काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको शुक्रबारदेखि जारी १४औं महाधिवेशन अन्तर्गत भएको मतदानको गणना बारे निर्णय गर्न निर्वाचन समितिको बैठक आज बस्ने भएको छ ।
हालसम्म सभापतिको मतगणना सकिएको छ भने पदाधिकारी र केन्द्रीय सदस्यतर्फको मतगणना सुरु गर्न आज साढे १ बजे समितिको बैठक बस्ने भएको हो ।
आजैबाट मतगणना सुरु गर्ने समितिले जनाएको छ । सबैभन्दा पहिला उपसभापति र महामन्त्रीको गणना हुने छ । सबै उम्मेदवारको मत गणना केन्द्रीय कार्यालय सानेपामा हुने जनाइएको छ ।
सोमबार सम्पन्न भएको निर्वाचन अन्तर्गत सभापतिको मत सोही रात गणना भएपनि कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि मंगलबार पुनः मतदान भएको थियो । दोस्रोपटकको मतदानमा सभापति शेरबहादुर देउवाले डा.शेखर कोइरालालाई ९ सय फराकिलो मतसहित पराजित गरेका थिए ।