काठमाडौं, २९ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले मुक्तकमैया, हलिया, कमलरी, हरवाचरवा, भूमिहीन र सुकुम्बासीलगायतको समस्या पहिचान गरी समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कृषि बधुवा मजदुर अधिकार मञ्च, कमैया महिला जागरण समाज नेपाल र राष्ट्रिय दलित नेटवर्कलगायतका सङ्घ÷संस्थाले आज आयोजना गरेको अन्तक्र्रियामा मन्त्री श्रेष्ठले मुक्तहलियाको न्यूनतम ज्याला तोकेर कार्यान्वयन गर्ने बताएका हुन् । उनले भने, “पटकपटक हलियामुक्त घोषणा गरिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन, त्यसको कार्यान्वयनसँगै उनीहरूलाई सीपमूलक तालिमसँगै रोजगारीको व्यवस्था गर्ने छु, लगत विवरणमा छुटेकाको लगत वितरण सङ्कलन गरिने छ ।” मन्त्री श्रेष्ठले मुक्तकमलरी, हलियालगायतको लागि बजेट व्यवस्थापनमा सक्दो पहल गर्ने विश्वास दिलाएका थिए ।
बाध्यात्मकरूपमा अरुको घरमा ऋण, जमिन वा पछि अन्नपात पाउने शर्तमा काम गरिरहेका कृषि मजदुरमध्ये खेत जोत्नेलाई हरवा भनिन्छ भने गाईवस्तु चराउनेलाई चरवा भनिन्छ । यस्ता हरवाचरवाले एकातर्फ उचित ज्याला पाउँदैनन् भने अर्कोतर्फ धेरैले बाबु÷बाजेले कुनै जमानामा कुनै व्यक्तिसँग लिएको ऋणको ब्याजबापत काम गरिदिनुपर्ने बाध्यता छ । विडम्बना त यो छ कि जसको घरमा पुस्तौँदेखि उनीहरू ऋण चुक्ताका लागि श्रम गरिरहेका हुन्छन्, तिनैलाई ऋण कति थियो र कति समय श्रम गरेपछि त्यो कट्टा हुन्छ भन्नेसमेत जानकारी हुँदैन । रासस