काठमाडौं, १ पौष । राजनीतिमा जो जोखिम मोलेर लड्न तयार हुन्छ उस्को कि जीत हुन्छ कि हार । जीतबाट उसले छलाङ मार्छ र हारका बाबजुद आफ्नो अस्तित्व देखाउन सक्छ । विश्वप्रकाश शर्माले त्यही जोखिम मोले ।
काँग्रेसका लोकप्रीय नेता शर्माले १४औं महाधिवेशनको भोलिपल्ट बोल्ड निर्णय लिए । उनलाई प्रवक्ता बनाउने पार्टी सभापति शेरबहादुर देउवाको साथ छाडे । आश्चर्यजनक रुपमा पूर्वमहामन्त्री प्रकाशमान सिंहको समूहमा गए ।
चुनावी मतगणनामा प्रकाशमान सिंह सभापतिमा तेस्रो भए । उनको मत मात्र ३७१ थियो । उपसभापतिमा उनको प्यानलबाट उम्मेदवार बनेकी सुजाता कोइरालाको मत केही बढेर ६४४ पुग्यो । जितका लागि १५ सय भन्दा माथि ल्याउनुपर्ने अवस्था देखिदा मतको ट्रेन्डले विश्वप्रकाशको जितको आँकलन थोरैले मात्र गरे । तर, परिणाम उनकै पक्षमा आयो ।
विश्वप्रकाश शर्मा काँग्रेसका हस्ती नेताहरु डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल र लोकप्रीय नेता प्रदीप पौडेललाई पछि पार्न सफल भए । तीनैजना नेताहरु बलियो प्यानलमा थिए । तर, लोकप्रीय नेता शर्माको पक्षमा मत ओइरियो ।
विश्वप्रकाशले महामन्त्रीमा जित हासिल गरेपछि उनको निर्णय सही सावित भयो । उनले राजनीतिमा मोलेको जोखिमले छलाङ मारे ।
विगतमा कहिले केन्द्रीय सदस्यमा त कहिले झापा जिल्ला सभापतिको प्रतिष्पर्धामै शर्मा पराजित भएका थिए । नेविसंघका पूर्व अध्यक्ष शर्मा वजनदार बोलीका कारण लोकप्रीय थिए । आम मानिसमा काँग्रेसलाई हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन ल्याउन सके । युवाहरुमा काँग्रेसप्रतिको आकर्षण बढाउन योगदान पुर्याए । उनको यो भूमिकाको मतदाताले कदर गर्दै विजयी बनाए ।