काठमाडौं, २ पौष । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले आफूलाई सभापतिको साझा उम्मेदवार मान्न पक्षका नेताहरु तयार नभएपछि विरासतको राजनीति गर्नेहरुविरुद्ध कडा बोलेका थिए । आफूलाई विरासतको राजनीतिक गर्नेहरुले सभापति बन्नबाट रोकेको भन्दै असन्तुष्टि जनाए । उनले यस्तो अभिव्यक्ति दिदै गर्दा सभापतिको मतपरिणाम पनि आयो । जसमा शेरबहादुर देउवा पहिलो चरणमा पहिलो र शेखर कोइराला दोस्रो भए ।
काँग्रेसको सभापतिको निर्वाचनमा पहिलो चरणबाट प्रकाशमान सिंह र विमलेन्द्र निधि रिङबाट आउट भए । सिंह काँग्रेस संस्थापक नेता गणेशमान सिंहका छोरा हुन् भने निधि पनि संस्थापक नेताकै छोरा हुन् । काँग्रेसमा ठूलो योगदान दिएका नेताहरुका छोरा भएकाले उनीहरुलाई विरासतको राजनीतिको मात्र भर परेको आरोप लाग्ने गर्दथ्यो ।
१४औं महाधिवेशनमा डा. शेखर कोइराला पनि पराजित भए । उनी कोइराला परिवारको विरासतबाट राजनीतिमा आएका हुन् । उपसभापतिमा सुजाता कोइराला पराजित भइन् । उनी गिरिजाप्रसाद कोइरालाकी छोरी हुन् । डा. सशांक कोइराला केन्द्रीय सदस्यको उम्मेदवारमा सिमित भए । कोइराला परिवारका महेश आचार्य पनि उपसभापतिमा पराजित भए । यसरी कोइराला परिवार विभाजित मात्र भएन पदाधिकारीमा अटेनन् ।
काँग्रेसमा यसपटक पदाधिकारीमा विरासतको राजनीतिबाट आएका कोही पनि छैनन् । यो काँग्रेसको इतिहासमै सम्भवत पहिलो घटना हो । शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गगन थापा, जीवन परियार, डीना उपाध्याय, भीष्मराज आङ्दम्बे जस्ता नेताहरु विद्यार्थी राजनीतिक हुँदै काँग्रेसको राजनीतिमा फड्को मार्न सफल भएका छन् ।
अहिले काँग्रेसभित्र विरासतको राजनीतिक गर्नेहरुले नराम्रो धक्का खाएपछि उनीहरुबीच पुनः एकताको प्रयास भएको छ । प्रकाशमान सिंह र सुजाता कोइराला एक ठाउँमा छन् । उनीहरुसँग सशांक कोइराला पनि नजिकिएका छन् । विमलेन्द्र निधि पनि विस्तारै नजिकिन थालेका छन् । उनीहरुले आपसी छलफल पनि गरिसकेका छन् ।
विरासतको राजनीतिबाट आएकाहरुले धक्का खाएपछि वाध्यतावश जुट्न थालेका हुन् । १४औं महाधिवेशन अघि प्रकाशमान सिंह, विमलेन्द्र निधि र सशांक कोइरालाले हातेमालो पनि गरेका थिए । तर, त्यो लामो समय टिक्न सकेन । परिणामस्वरुप महाधिवेशनमा ठूलो धक्का खान पुगे ।