काठमाडौं, २ पौष । नेपाली काँग्रेसको मधेशीतर्फको सहमहामन्त्री पदमा रञ्जीत कर्णले ४७२ मत पाएका छन् । उनले उम्मेदवारी दर्ता गरेपनि फिर्ता लिने समय सकिएपछि सामाजिक सञ्जालबाट पछि हटेको घोषणा गरेका थिए ।
कर्णले डा. शेखर कोइरालालाई सभापतिमा समर्थन गर्ने र उनकै प्यानलका रामकृष्ण यादवलाई साथ दिने घोषणा गरेका थिए । निर्वाचन समितिले समय सकिइसकेकोले उनको उम्मेदवारी औपचारिक रुपमा फिर्ता भएन ।
मतदानको दिन विरामी परेका कर्ण जसोतसो मत दिन पुगे । तर, उनले आश्चर्यजनक तरिकाले ४७२ मत प्राप्त गरे ।
कर्ण सुरुमा प्रकाशमान सिंहको प्यानलमा परेका थिए । पछि ब्याक भएको घोषणा गरे । उनीनिकटस्थका अनुसार विरामी परेर अझै सुतिरहेका छन् ।
शेखर कोइरालाको समूहबाट कर्णले सहमहामन्त्रीको दाबी प्रस्तुत गरेका थिए । उनलाई अन्तिम समयमा ब्याक गराइयो । आफै गएर उम्मेदवारी दर्ता गरे । पछि फिर्ता गरेको घोषणा गरे । तर, उनको पक्षमा ४७२ मत खस्यो ।
कर्णको मत रामकृष्ण यादवसँग जोड्दा पनि विजयी महेन्द्र यादवको जति पुग्दैन । दुवैको जोड्दा महेन्द्र यादव ३८ मतले मात्र अगाडि देखिन्छन् । तर, कर्णको मतले रामकृष्णलाई ठूलो असर गरेको देखिन्छ ।
नेविसंघका पूर्व सभापति समेत रहेका कर्ण मधेशमा लोकप्रीय छन् । उनलाई नयाँ पुस्ताको बलियो नेता मानिदैछ । कर्णको मतले उनलाई लोकप्रीय देखाएको छ । तर, यही मतले शेखर कोइराला समूहका रामकृष्ण यादवको पराजय हुनुले भविष्यमा उनलाई असर पर्न सक्छ ।