Logo

संवैधानिक अधिकार खोसेर लिनुपर्छ: उपसभामुख शर्मा



गण्डकी, ३ पुस: गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले महिलाले संविधानले व्यवस्था गरेका हक र अधिकार मागेर होइन खोसेरै लिनुपर्नेमा जोड दिएकी छिन् ।नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको लैङ्गिक तथा सामाजिक समावेशीकरण समितिद्वारा आज पोखरामा आयोजित जिल्लास्तरीय महिला गोष्ठी शुभारम्भ गर्दै उनले अघिकारका लागि महिला सङ्गठित भएर लाग्नुपर्ने बताएकी हुन् ।

महिलाले राजनीतिक, सामाजिक र आर्थिकरुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै सशक्तीकरणमा लाग्नुपर्ने बताउँदै उपसभामुख शर्माले प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता हुनैपर्ने आवश्यकता औँल्याईन् । दुःख र अन्यायमा परेका व्यक्तिको उद्धारमा रेडक्रसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ भन्दै उनले निकट भविष्यमा हुने स्थानीय तहको निर्वाचनमा पहिलो पदमा आउने गरी पहल थाल्न महिलालाई आग्रह गरीन ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति डण्डराज शर्माले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को जोखिमीका बेलामा रेडक्रसले आफ्ना सम्पूर्ण सेवा सञ्चालन गरेर मानवप्रति समर्पित भएको जानकारी दिए ।

रेडक्रसका मन्त्री धर्मराज अधिकारी,कार्यक्रम संयोजक उर्मिला खड्का, पत्रकार श्यामनाथ कुँवर, रेडक्रस जिल्ला कार्यसमिति सदस्य रमा कोइरालालगायतले रेडक्रसले निर्वाह गरेको भूभिकाबारे चर्चा गरेका थिए । तालिममा जिल्लाका विभिन्न ४८ उपशाखाका ९६ महिलाको सहभागिता छ ।एकदिने सो तालिममा मोहनसिंह खड्काले ‘रेडक्रस अभियान’, उर्मिला खड्काले ‘उपशाखामा लैङ्गिक तथा सामाजिक समावेशीकरणका गतिविधि’ र खेमराज सापकोटाले ‘विपद्मा महिला, बालबालिका र ज्येष्ठ नागरिकको संरक्षण’ विषयमा प्रशिक्षण दिने भएका छन् ।-रासस



प्रतिक्रिया दिनुहोस्