काठमाडौं, ३ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनको परिणाम धेरैका लागि आश्चर्यचनक थियो । झापाको सामान्य परिवारबाट राजनीतिमा बढेका राजेन्द्र लिङ्देनले संभ्रान्त पारिवारिक पृष्ठभूमीका कमल थापालाई अध्यक्षमा पराजित गरे । राप्रपा जस्तो परम्परागत संभ्रान्तहरुको दलमा लिङ्देनको जीत सामान्य मानिएन । उनी जनजाति हुन् र कट्टर हिन्दुवादी र राजसंस्थाका पक्षधर ।
लिङ्देनको उदयले धर्मनीरपेक्ष र गणतन्त्रवादी धेरैलाई चुनौती थपियो । सार्वजनिक रुपमा केपी शर्मा ओली, प्रचण्ड र माधवकुमार नेपालले गणतन्त्रवादी खतरा औल्याउन थाले । चित्रबहादुर केसीले विज्ञप्तिमार्फत् नै लिङ्देनको जीतले गणतन्त्र खतरामा परेको औल्याए ।
राप्रपामा लिङ्देनको उदय हुँदा नेपाली काँग्रेसमा पनि नयाँ पुस्ताको उदय भएको छ । तर, नयाँ पुस्ता लिङ्देनको भन्दा फरक पृष्ठभूमि र विचारका हुन् ।
काँग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापाको विजयले तरंग ल्यायो । दुवै नेता देशमा गणतन्त्र नआउँदै गणतन्त्रको नारा लगाउँदै आएका थिए । गगन थापाले काँग्रेसले औपचारिक निर्णय नलिदै राजसंस्थाको अन्तको पक्षमा बोल्दै आएका थिए । विश्वप्रकाश शर्मा इरानका राजाले देश छाडेको उदाहरण दिदै ज्ञानेन्द्र शाहको पनि त्यही अविगत हुने भाषण गर्थे ।
काँग्रेसभित्र धर्मनीरपेक्ष र गणतन्त्रका पक्षधर थापा र शर्माको उदय भएको छ । यसलाई अर्थपूर्ण मानिएको छ ।
कम्युनिस्ट पार्टीका नेताहरु एक अर्कालाई ज्ञानेन्द्रसँगको साँठगाँठको आरोप लगाइरहेका छन् । ओली र प्रचण्ड आरोप प्रत्यारोपमा उत्रिएका छन् । ज्ञानेन्द्रसँग विगतमा गरेको भनिएको सहमति र वर्तमानमा भइरहेको निकटताको विषय आरोपमा उठेका छन् । यो सामान्य विषय होइन ।
लिङ्देनको उदयले राजसंस्था र हिन्दुराष्ट्रको पक्षधर राप्रपाको क्रेज बढेको छ । यता काँग्रेसभित्र पनि लोकप्रीय गणतन्त्रवादी थापा र शर्माको उदय भएको छ । लिङ्देन झापाका हुन् भने शर्मा पनि झापाका । यो अर्को संयोग मात्र नहोला ।
अब लिङ्देनको उदयसँगै गगन र विश्वप्रकाशको काँग्रेसभित्र भएको उदयले गणतन्त्र र राजसंस्थाका पक्षधरबीच सिधा टकराव हुने सम्भावना बढेको छ । नयाँ पुस्ताले दुई फरक धारको नेतृत्व लिने सम्भावना बढेको छ । लिङ्देनले राजसंस्थाको पक्षमा वातावरण बनाउन खोजिरहँदा राजनीतिक प्रणालीलाई बचाएर गणतन्त्र बलियो बनाउन गगन र विश्वप्रकाश चुनौती बन्न सक्छन् ।