Logo

मेलम्चीको अवधि थप्ने विषय अझै टुंगो लागेन



काठमाडौं, पुस ५। मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीको अवधि थप्ने विषय टुंगो लाग्न सकेको छैन । अस्थायी रूपमा पानी काठमाडौं ल्याउन अवधि थप गर्नुपर्ने भए पनि सरकारले टुंगो लगाइसकेको छैन ।

चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोको अवधि थप्न मेलम्ची खानेपानी विकास समितिले प्रक्रिया अघि बढाए पनि टुंगो लाग्न नसकेको हो । अस्थायी रूपमा पानी ल्याउन विभिन्न संरचनामा मर्मत गर्नुपर्ने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।

गत फेब्रुअरीमा ठेक्का अवधि सकिएकोमा अवधि थपको प्रक्रियामा हुँदा दुर्घटना भएको थियो । ‘अहिले मन्त्रालयमा छलफलकै क्रममा भए पनि टुंगो लाग्न सकेको छैन,’ उनले भने ।

अस्थायी रूपमा पानी ल्याउन साधारण काम मात्रै बाँकी रहेको सूचना अधिकारी पन्तले बताए । आयोजनाअन्तरगत अहिले सुरुङ र हेडवर्क सफा गर्न बाँकी छ । ठेक्काको अवधि थप भएमा बाँकी कामसँगै अहिले मर्मतको काम सोही कम्पनीलाई गराउन सकिने आयोजनाले बताएको छ ।

कुनै पनि ठेक्कामा सुरुको ठेक्काको ५० प्रतिशभन्दा बढीको म्याद थप गर्नुपर्दा मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने व्यवस्था छ । अहिले सो ठेक्काको अवधि थपसँगै कार्ययोजना अघि बढाइएको सूचना अधिकारी पन्तले बताए । अहिले बाँकी रहेका काम गर्न कम्पनीलाई समितिले काम गर म्याद थप भन्न सकिने भए पनि अहिले त्यो गर्न नसकिएको उनले बताए । ‘अवधि थप नभएकाले काम गर भन्न सकिएको छैन,’ उनले भने ।

आयोजनाका बाँकी काम सम्पन्न गरेर अबको केही महिनामा पानी काठमाडौं उपत्यका ल्याउनेगरी सडक र पुल अस्थायी रूपमा खुलाइसकिएको छ । समितिले हेलम्बु गाउँपालिकासँग समन्वयमा अस्थायी सडक खुलाएको हो ।

सरकारले आगामी चैतसम्ममा पुनः उपत्यकामा पानी झार्ने लक्ष्य लिएको छ । निर्माण कम्पनीको अवधि थप भएमा अस्थायी रूपमा ल्याउन समस्या नहुने सूचना अधिकारी पन्तले बताए । गत असारमा गएको बाढीका कारण पुरिएर रहेका साना सुरुङ खोल्न सकेमा पुनः पानी हस्तान्तरण गर्न सकिने उनले बताए ।

कामको हिसाबले अहिले कार्यरत कम्पनीलाई काम लगाउन सजिलो भएको समितिले बताएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्