काठमाडौँ, ५ पुस। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई राम्रो र सहज वातावरणमा हामी अघि बढाउन चाहेको बताएका छन् । समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमन विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।
उनले भने, ‘एमसीसीसँग जोडिएकाहरुले हामीलाई बुझाउने कोसिस गरिरहेका छन् । हामी संवादमा रहेका छौं । यसलाई राम्रो वातावरणमा र सहज वातावरणमा हामी अघि बढाउन चाहन्छौं । विशुद्ध आर्थिक सहयोगको विषय बनोस्, सेनासँग वा नेपालको सार्वभौमसत्तासँग जोडिने कुरा नहोस् ।’
उनले एमसीसीबारे छलफल भइरहेको बताए। उनले भने, ‘एमसीसीको सवालमा पनि हामी छलफल चलाइरहेका छौं । छलफल चलाएर त्यसको अन्र्तवस्तु के छ ? कहिँ त्रुटी कमजोरी छन् भने, सच्याउनुपर्ने कुरा छ भने, कमिटमेन्ट दिनुपर्ने कुरा छ भने, ती के के हुन् भन्ने बारेमा पनि छलफल गरिरहेका छौं।’ तीनजनाको कमिटी बनाइएको छ। यो कमिटीले पनि अध्ययन गरेर निष्कर्ष अगाडि सार्नेछ।’