Logo

अख्तियारले मुद्दा हालेपछि अस्तव्यस्त कामपा: चेक काट्न बन्द, नक्सा स्वीकृत ठप्प



काठमाडौं, पुस ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको भवन निर्माणको ठेक्का दिने क्रममा गलत लिखत तयार गर्न आदेश दिने ५ उच्च कर्मचारीलाई विशेष अदालतमा मुद्दा दर्ता गरेपछि महानगर अस्तव्यस्त छ ।

कामपाका अधिकांश कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतले फसाएको भन्दै काम गर्न छाडेका छन् । महानगरका कर्मचारी रामप्रसाद पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘कर्मचारी साथीहरू फसेको हामीले महसुस गरेका छौं । अब कुनै पनि विषयमा दबाबमा कार्यालयको निर्णय नगर्नुहोला, म पनि गर्दिनँ ।’

यस्तो अवस्थामा महानगर समस्यामा गुज्रिएपछि कर्मचारीमा काम गर्ने जाँगर हराएको छ । यहाँसम्म कि पाँच दिनदेखि महानगरको नक्सा स्वीकृतिको काम ठप्प छ । चेक काट्ने बन्द भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्सा महाशाखाका निमित्त प्रमुख वीरबहादुर खड्काविरुद्ध मुद्दा दायर गराएपछि नक्सा स्वीकृतिको काम ठप्प भएको छ । नक्सापासपछि अन्तिम स्वीकृत प्रदान गर्ने खड्काविरुद्ध मुद्दा परेपछि कसैलाई पनि निमित्त दिइएको छैन ।

कामपाका कर्मचारीले सम्झौता प्रक्रियामा सक्रिय भएर लाग्ने प्रमुख कार्यकारी अधिकृत राजेश्वर ज्ञवाली कार्यालयमा कम देखिन थालेका छन् । उनकै कार्यशैलीको कारण कर्मचारीलाई काम गर्न समस्या परेको कर्मचारीले बताएका छन् । अहिले सबै काम रोकिएको छ । खरिद एकाइ प्रमुख बखतबहादुर साउदमाथि मुद्दा दायर गरेपछि खरिद एकाइको सबै प्रक्रिया रोकिएको छ । चेकमा हस्ताक्षर गर्ने प्रशासन महाशाखाका उपनिर्देशक सुमन अधिकारीमाथि पनि मुद्दा दायर भएपछि चेकमा हस्ताक्षर हुन सकेको छैन । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्