Logo

अर्थमन्त्री जनार्दन शर्मामाथि पार्टीको राष्ट्रिय सम्मेलनलाई लक्षित गरेर प्रहार, पछिल्ला नीतिले मुलुकलाई फाइदा पुगेको विज्ञहरुको दाबी



काठमाडौं, ७ पुस । अर्थमन्त्री जनार्दन शर्मामाथि अहिले चौतर्फी प्रहार भैरहेको छ। खासगरी हक्की स्वभावका शर्मा, अर्थमन्त्रालयको नेतृत्वमा आएपछि धेरैले रुचाएका थिएनन् । उनले सुरुवाती दिनमै आक्रामक रुपमा आफूलाई प्रस्तुत गरेका थिए । उनको कतिपय निर्णयलाई लिएर अहिले आलोचनाको विषय बनाईएको छ । तर, शर्माले भने आफूले अर्थमन्त्री भएपछि लिएका सबै निर्णय देश र जनताको हितमा रहेको सार्वजनिक रुपमै दाबी गरिरहेका छन्।

उनले आफूले सरकारलाई सफल बनाउनको लागि र जनताको बीचमा लोकप्रिय बनाउनको लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनबमोजिम काम गरेको पनि दाबी गरेका छन् । अर्थतन्त्रबारे विज्ञहरुले भने अर्थमन्त्री शर्माले अहिले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको भनेर सार्वजनिक रुपमै प्रशंसा गरिरहेका छन् । खासगरी उनले रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्रका लागि महत्वपूर्ण निर्णय लिएको पनि उनीहरुको भनाई छ ।

पछिल्लो समय मन्त्री शर्माले ‘पोलिसी–ह्याक’ गराएको भन्ने पनि आरोप छ । तर, अर्थमन्त्रालयका अधिकारी भने यो आरोपमा पनि कुनै सत्यता नभएको दाबी गर्छन् । कतिपयले भने अहिले अर्थमन्त्री शर्मा आवद्ध पार्टीको राष्ट्रिय सम्मेलन नजिकिएको र शर्माले महासचिवजस्तो महत्वपूर्ण पदमा दाबी गरिरहेकोले त्यसमा उनलाई रोक्नको लागि सार्वजनिक खपतको रुपमा आरोप लगाईएको पनि टिप्पणी गरेका छन् । मन्त्री शर्माले लिएका कतिपय निर्णयका कारण अर्थतन्त्रमा ठूलो राहत पुगेका विषय भने ओझेलमा पारिएको मन्त्रालयका कतिपय अधिकारीको गुनासो छ ।

मन्त्रालयका एक अधिकारीले भने–‘अर्थमन्त्रीज्यूले प्रधानमन्त्री देउवाको सल्लाहअनुसार नै काम गरिरहनुभएको छ । उहाँले लिएका कतिपय निर्णयले देशको अर्थतन्त्रलाई बलियो बनाएको छ । धेरै सकारात्मक सुधारका काम भएका छन् । अहले अर्थतन्त्रमा सकारात्मक–आमूल परिवर्तन देखिएको छ।’ हरेक निर्णय लिनुअघि उनले प्रधानमन्त्री देउवासँग छलफल गर्ने गरेको पनि स्रोतको दाबी छ । हुन पनि मन्त्री शर्माले कतिपय फोरमा बोल्दा आफूले प्रधानमन्त्रीले लिएका नीतिलाई कार्यान्वयन गरिरहेको बताएका छन् ।

उनी मन्त्री हुनेबित्तिकै आर्थिक विधेयकमार्फत बजेट ल्याईएको थियो । उक्त बजेटमा ‘लगानीको आयस्रोत नखोजिने’ व्यवस्था गरिएको भनेर आलोचना गरिएको थियो । तर, मन्त्रालयले भने सम्पत्ति शुद्धीकरणको गतिविधिमा कुनै छुट नहुने धारणा सार्वजनिक गरेको थियो । मन्त्री शर्माले लिएका निर्णय र सार्वजनिक गरिएका नीतिलाई लिएर निजी क्षेत्रबाट भने सकारात्मक प्रतिक्रिया पनि आइरहेको छ । उनीहरुले सरकारले लिएका पछिल्ला निर्णयहरूबाट देशलाई धेरै फाईदा भएको दाबी गर्दै आएका छन्। उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पनि सरकारका पछिल्ला नीतिले मुलुकलाई फाइदा पुगेको दाबी गरेका समाचार आएका छन् ।

शर्मा अर्थमन्त्री भएलगत्तै पुँजी बजारमा समस्या देखिएको थियो । त्यतिवेला गर्भनर महाप्रसाद अधिकारीले लिएको नीतिका कारण सेयर बजारमा समस्या आएको भनेर आलोचना भएको थियो । मन्त्री शर्माले लगत्तै गभर्नर अधिकारीलाई बोलाएर समस्या समाधानको लागि कडा निर्देशन दिएका थिए । अहिले माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन नजिकिँदै गएको र शर्माले महासचिवमा दाबी गर्न लाग्दा कतै उनलाई बद्नाम गराउने उद्देश्यले उनलाई नेतृत्वमा आउन नदिन षड्यन्त्र गरिएको त होईन भनेर ? पनि चर्चा सुरु भएको छ ।

मन्त्री शर्मासँग समस्या पहिचान गरेर समाधान दिनसक्ने खुबी छ । उनी आफूकहाँ समस्या लिएर आउने सम्बन्धित निकायका अधिकारीको कुरा गम्भीर भएर सुन्छन् । र, उनीहरुको जायज माग सम्बोधन गर्न तत्कालै पहलकदमी लिन्छन् । उनी गलत कुरामा भने कहिल्यैपनि कसैसँग सम्झौता गर्दैनन् । सायद, उनको यही स्वभावका कारण कतिपय उनीबाट अनुचित काम गराउन खोज्नेहरु बिच्किएको र उनलाई बद्नाम गराउन अहिलउ उनीहरु नै लागिपरेको हुनसक्ने पनि चर्चा छ । file photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्