जनकपुरधाम, ८ पौष । प्रदेश २ को नामांकन हुने भएको छ । यसबारे प्रदेश सभाको बैठकमा विभिन्न नाम प्रस्ताव भएको छ ।
जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र मधेश नाममा सहमत भएका छन् । तीनवटै दलका प्रदेश सभा सांसदहरुबाट मधेश नाम प्रस्ताव भएको छ । तर, तीन दलको सांसद संख्या जोड्दा पनि दुई तिहाई नपुग्ने भएकाले प्रदेशको नाम टुंगो लाग्ने सुनिश्चित भएको छैन ।
प्रदेश २ मा कुल १०४ सांसद छन् । दुई तिहाई पुग्न १०७ प्रदेश सभा सदस्य रहेकोमध्ये हाल रहेको १०४ मा ७० सांसदको समर्थन चाहिन्छ । जसपासहित मुख्य चार दल मिलेमा मात्र दुई तिहाई पुग्छ । जसपाले नचाहेमा बाँकी दल एक हुँदा पनि दुई तिहाई पुग्दैन ।
प्रदेश २ को नामांकन गर्न चार पटक प्रयास भएपनि दुई तिहाई पुगेको छैन । यसपटक पनि पुग्ने सम्भावना कम छ । मिथिला र जनक नाम जसपा र लोसपाबाहेकका दलहरुबाट आइरहेका छन् ।
नेकपा एमालेले जनक नाम प्रस्ताव गर्ने भएको छ । काँग्रेसले मिथिला शब्द मिलाउनुपर्ने भन्दै आएको छ ।
प्रदेश सभामा सबैभन्दा बढी सांसद जसपाको छ । दोस्रोमा नेपाली काँग्रेस, तेस्रोमा लोसपा र चौंथोमा नेकपा एकीकृत समाजवादी पार्टी छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै समान पाचौंमा छन् ।
कस्को कति सांसद
जसपा– ३९
नेपाली काँग्रेस–१९
लोसपा–१६
नेकपा एस– १३
नेकपा एमाले– ८
नेकपा माओवादी केन्द्र– ८
नेपाल संघीय समाजवादी पार्टी–१