काठमाडौं, ११ पुस । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ ।
धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा आइतबार भएको फाइनलमा प्रदेश नम्बर १ लाई ७ विकेटले हराउँदै एपीएफले उपाधि उचालेको हो ।
प्रदेश १ ले दिएको ६८ रनको लक्ष्य एपीएफले १४ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
एपीएफको जितमा ज्योति पाण्डेले अविजित रहदै ३६ रन जोडिन भने ममता चौधरीले अविजित १९ रन जोडिन् ।
प्रदेश १ का लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३ विकेट हात पारिन ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ६ विकेट गुमाएर ६७ रन बनाएको थियो ।
प्रदेश १ का लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३४ रन जोडिन भने अप्सरी बेगमले ११ रन जोडिन् ।
एपीएफका लागि सिता राना मगरले सर्वाधिक ३ विकेट लिइन् ।
साथै, रेखा रावलले २ तथा करुणा भण्डारीले १ विकेट लिईन ।
उपाधिसँगै एपीएफले ५ लाख प्राप्त गरेको छ भने उपविजेता बनेको प्रदेश १ ले ३ लाख प्राप्त गरेको छ ।