Logo

ललिता निवास प्रकरणः अस्पतालको सिसियूबाट माधवी सुवेदीलाई अदालत लगियो



काठमाडौं, ११ पौष । ललिता निवास जग्गा प्रकरणमा मुछिएका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई म्याद थपका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले अदालत लगेको छ । उनीहरुलाई थप अनुसन्धानका लागि अदालत लगेको हो ।

सुवेदी ब्यूरोको हिरासतमा छन् । उनकी पत्नी माधवीलाई भने ग्रान्डीको सीसीयूमा राखिएको थियो । मुटु र उच्च रक्तचापको विरामी माधवी केही दिनअघि हिरासतबाट अस्पताल लगिएकी थिइन् । म्याद थपका लागि उनी आफै उपस्थित हुनुपर्ने भन्दै प्रहरीले सीसीयूबाट लगेको हो ।

अदालत लगिएकी माधवीको शरीरमा उपचारका लागि जडित प्रविधि समेत रहेका छ । उनको स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएको परिवारले जनाएको छ ।

सुवेदी दम्पत्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले गत हप्ताको मङ्गलबार पक्राउ गरेको हो । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा सुवेदीलाई मुख्य अभियुक्तका रुपमा प्रहरीले अनुसन्धान अगाडि बढाएको हो । उनको कम्पनी र व्यक्तिगत सम्पत्तिको कागजपत्र अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई पनि मुछिएका छन् । उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरी मुद्दा चलाउननुपर्ने भन्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधीन पनि छ । यो प्रकरणमा मुछिएका विजयकुमार गच्छेदारविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । नाम चलेकाहरु यो प्रकरणमा मुछिएका छन् ।

शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीले योजनावद्ध तरिकाले बालुवाटारको जग्गा आफ्नो नाममा ल्याएको भन्दै अनुसन्धान बढेको हो । बालुवाटारको जग्गामा मन्त्रिपरिषदको निर्णय गराएर समेत जग्गा हडपिएको अभियोग छ ।



प्रतिक्रिया दिनुहोस्