काठमाडौं, पुस १२ । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत् चुहावटलाई घटाएर १४.३५ प्रतिशतमा झारेको छ । गत आर्थिक वर्षमा १७.१८ प्रतिशतमा रहेको चुहावट आव २०७८/७९ को साउनदेखि कात्तिकसम्मको अवधिमा चुहावट २.८३ प्रतिशत बिन्दुले घटाइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९.२४ प्रतिशत छ भने बाँकी प्रसारण तथा उत्पादनतर्फको हो । गत वर्षको कात्तिकसम्म वितरणतर्फको चुहावट १२.०१ प्रतिशत थियो । गत आर्थिक वर्षको चार महिनाको तुलनामा यस वर्ष वितरणतर्फको चुहावट २.७७ प्रतिशत बिन्दुले कम हो । प्राधिकरणले चालू आर्थिक वर्षमा विद्युत् चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।
पहिलो चार महिनामै लक्ष्यभन्दा कम चुहावट रहेकाले आवको बाँकी अवधिमा लक्ष्य पूरा हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । “चुहावट नियन्त्रणको प्रभावकारी अभियान, सबस्टेसनको क्षमता वृद्धि, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका कामले चुहावट नियन्त्रणमा उल्लेख्य उपलब्धि देखिएको हो,” उनले भने
आव २०७२/७३ मा २५.७८ प्रतिशत विद्युत् चुहावटलाई घटाएर प्राधिकरणले आव २०७६/७७ मा १५.२५ प्रतिशतमा झारेको थियो तर आव २०७७/७८ मा चुहावट १.९१ प्रतिशत बिन्दुले बढेर १७.१८ प्रतिशत पुगेको थियो । गोरखापत्र दैनिकबाट