काठमाडौं, १३ पौष । नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले पार्टीको महाधिवेशनमा पूरक प्रस्ताव दर्ता गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि उनको पूरक प्रस्तावमा संघीयताको अभ्यासमा गम्भीर प्रश्न उठाइएको छ ।
जनप्रतिनिधिहरु करोडौंको गाडीमा सवार भएर न्वारान, पास्नी, जन्मदिन मनाउने आतिथ्य सत्कार गरुन् भन्ने उद्देश्यले संघीयतालाई माओवादीले राजनीतिक मुद्दा नबनाएको उल्लेख गरेका छन् । उनले प्रतिवेदनमा भनेका छन्,‘यो निर्धन मुलुकका जनप्रतिनिधिहरु करोडौंको गाडीमा सवार भए न्वारान, पास्नी, जन्मदिन मनाउने आतिथ्य सत्कार गरुन् भन्ने उद्देश्य हाम्रो कदापि थिएन ।’
कार्कीले संघीयताले उल्टै जनतालाई पीडा प्रदान गर्न थालेको भन्दै गम्भीर प्रश्न उठाएका छन् । संघीयताले बजेटको एउटा हिस्सा स्थानीय तहमा ल्याएपनि विचरण र अनुगमनको संयन्त्र तयार हुन नसकेको उल्लेख गरेका छन् । उनले प्रतिवेदनमा लेखेका छन्,‘मजदुर किसान जस्ता आधारभूत तहका जनताको निगरानी ती विकास निर्माण आदिमा कायम हुन नसक्दासम्म हाम्रो संघीयता जनतालाई पीडा प्रदान गर्ने बुख्याँचा सावित हुनेछ ।’