काठमाडौं, १५ पौष । एकता महाधिवेशनमा नेतृत्व परिवर्तन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी फुटको दिशातर्फ बढेको छ । अध्यक्षमा पराजित कमल थापाले राजेन्द्र लिङ्देनलाई नेतृत्वमा स्वीकार्न सकेका छैनन् भने लिङ्देनले पनि थापाप्रति कडा नीतिहरु लिन थालेका छन् । यसले दुई नेताबीच टकराव बढेर गएको छ ।
थापाले राजसंस्थाको मुद्दा छाड्ने संकेत गरेका छन् । उनी पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाको महाधिवेशनमा खेलेको आरोप लगाइरहेका छन् । २७ पौषमा पृथ्वी जयन्ती पारेर थापाले महत्वपूर्ण घोषणा गर्न लागेका छन् । विश्वस्त स्रोतका अनुसार उनी हिन्दुराष्ट्रको मुद्दालाई मात्र लिने गरी अगाडि बढ्ने तयारीमा छन् ।
राप्रपाले राजसंस्थासहितको हिन्दुराष्ट्रको मुद्दा उठाउँदै आएको छ । थापाले नै यो मुद्दालाई राप्रपाभित्र स्थापित गरेका हुन् । तर, अध्यक्षमा पराजित भएपछि उनी राजसंस्थालाई थाती राखेर हिन्दुराष्ट्रमा मात्र केन्द्रित हुन लागेका छन् ।
थापानिकट एक प्रभावशाली नेताका अनुसार फरक शैलीमा राप्रपाको इतर समूह सक्रिय हुन लागेको छ । राप्रपाको औपचारिक कार्यक्रममा भन्दा थापाले आफै कार्यक्रम बनाएर अगाडि बढ्ने योजना बनाएका छन् । उनले राप्रपा नफुटाउने भनेपनि यसतर्फ गतिविधिहरु चलाउन थालेका छन् ।
राप्रपा तत्काल फुटाउँदा चुनाव हारेपछिको परिणाम भन्ने सन्देश जाने भएकाले थापा विस्तारै त्यस दिशातर्फ बढ्न लागेका हुन् । उनले हिन्दुहरुको धार्मिक ग्रन्थ भागवत् गीता छोएर राप्रपा नफुटाउने कसम सार्वजनिक रुपमा खाएका थिए । यसले पनि उनीमाथि नैतिक प्रश्न उठेको छ । राप्रपा फुटाइहाल्दा आफ्नो हिन्दु धर्मप्रतिको निष्ठामै प्रश्न उठ्ने भएकाले थापा केही समय पार्टी नफुटाइहाल्ने पक्षमा देखिएका हुन् । तर, उनी विस्तारै फुटाउने दिशामा बढिरहेको बुझिएको छ ।
यसैगरी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि कमल थापाले पार्टी फुटाउनसक्ने निष्कर्ष निकालेर आफ्ना कदमहरु चाल्न थालेका छन् । उनले राप्रपाका पूर्व अध्यक्ष पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको उचित व्यवस्थापन गर्दै थापा पक्षमा रहेका उपाध्यक्षहरु बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्कीका अलावा महामन्त्रीहरु भुवन पाठक र कुन्ती शाहीलाई पनि पक्षमा पार्ने गरी गतिविधि बढाएका छन् ।