काठमाडौं, १५ पुष । औषधि व्यवस्था विभागका तत्कालीन प्रमुख भरत भट्टराईले सरुवा भएको ठाउँमा नपुगी मन्त्रालयमा नै चलखेल गरिरहेको पाइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नियुक्त गरेका भट्टराईको राष्ट्रिय औषधि प्रयोगशालामा सरुवा भएको थियो ।
तर उनी सरुवा भएको स्थानमा नगई पुरानै ठाउँमा रहन चलखेल गर्दै आएको पाइएको छ । उनको त्यहाँ सरुवा भएको तीन महिना बढी भइसकेको छ ।मन्त्रालय स्रोतले भन्यो, “उहाँको सरुवा भएको महिनौँ भइसक्यो तर उहाँ यहीँ मन्त्रीको वरिपरिमात्रै रहेको देखिनुहुन्छ । उहाँ काममा गएको पाइँदैन ।”
भट्टराईले मन्त्रालयबाटै ८८ दिनको बिदा स्वीकृत गराएका छन् । ताकि कार्यालय प्रमुखले बिदा लिँदा पूर्वस्वीकृत गराउनुपर्ने भए पनि त्यो पनि नपाइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । ऐनअनुसार ६० दिन जानकारी नगराइ कार्यालयमा अनुपस्थित रहेमा बर्खास्त हुने व्यवस्था छ ।
तर उनी सरुवा भएको स्थानमा तीन महिना बितिसक्दा पनि पुगेका छैनन् ।
मन्त्रालयकै एक अधिकारीले भने, “उहाँ पहिले नेकपा एमाले निकट हुनुहुन्थ्यो, अहिले फेरि उहाँ समाजवादीमा जाने तयारीमा हुनुहुँदो रहेछ । पार्टीको लाइन मिलाएर उहाँ चलखेल गर्ने अभियानमा देखिनुहुन्छ ।”
ती अधिकारीका अनुसार तत्कालीन मन्त्री ढकालले कानुनविपरीत करिब पाँच वर्षभन्दा बढी सिनियर रहेका व्यक्तिलाई हटाएर भट्टराईलाई राखेका थिए । तर स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारीमा रहेका बेला शेरबहादुर देउवाले त्यसलाई खारेज गरेपछि भट्टराई अहिले फेरि चलखेलमा लागेको बुझिएको छ ।
“उहाँ सरुवा भएको ठाउँमा एकपल्ट पनि पुग्नुभएको छैन,” मन्त्री निकट एक अधिकारीले भने, “उहाँ मन्त्रालयमै धाइरहनुभएको छ । पार्टीको साधारण सदस्यता लिएर फेरि चलखेल गर्ने अभियानमा रहेको हामीले पाएका छौँ ।”