काठमाडौँ, १६ पुस। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मेलमिलाप, सम्वाद, सहमति र सहकार्य सदैव आवश्यक रहेको बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शुभकामना दिँदै देउवाले राष्ट्रियता र लोकतन्त्रप्रति समर्पित सबै राष्ट्रिय शक्ति बीच मेलमिलाप, सम्वाद, सहमति र सहकार्य सदैव आवश्यक रहेको बताएका हुन्।
‘राष्ट्रियता र लोकतन्त्रप्रति समर्पित सबै राष्ट्रिय शक्ति बीच मेलमिलाप, सम्वाद, सहमति र सहकार्य सदैव आवश्यकता हुन्छ । नेपाली कांग्रेसको राष्ट्रिय एकता तथा मेलमिलापको नीति आज पनि त्यत्तिकै सान्दर्भिक र औचित्वपूर्ण छ,’देउवाले शुभकामना सन्देशमा भनेका छन्। यस्तै प्रधानमन्त्री देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा वीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको ठूलो महत्व रहेको धारणा व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा भनिएको छ,’ यो दिनले हामी सबैलाई सधै देशभक्ति र लोकतन्त्रप्रति प्रतिवद्धताका लागि प्रेरणा दिइरहेको छ।यो दिवसले राजनीतिक दलहरुलाई राष्ट्रियता र लोकतन्त्रको संरक्षण र सम्बर्धनका लागि सहमति र सहकार्यका साथ अगाडि बढ्न प्रेरणा दिने मैले विश्वास लिएको छु।’प्रधानमन्त्री देउवा आज अपरान्ह ३ बजे राष्ट्रिय एकता तथा मेलमिलाप दिवशको अवसरमा सुन्दरीजलस्थित वीपी संग्राहलय जाँदैछन्।