काठमाडौं, १८ पुस । सिद्धार्थ बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग एनसीएचएलले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको सम्झौता गरेको छ ।
बैंकले थालनीका लागि औपचारिक रुपमा उक्त सम्झौता गरेको जनाएको छ । पत्रमा सिद्धार्थ बैंकका पेमेन्ट सोलुसन्स डिपार्टमेन्ट एण्ड बिजनेस सपोर्ट प्रमुख सुरेश राज महर्जन तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि सिद्धार्थ बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तरआबद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछन् । उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपिआइका मार्फत बैंकले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्ने जनाइएको छ ।
सिद्धार्थ बैंकले सदैव आफ्ना ग्राहकहरुका निम्ति विभिन्न डिजिटल भुक्तानी प्लाट्फर्महरु प्रदान गर्दै आएको छ र नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीले बैंकका ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने विश्वास गरेको छ । हालसम्म नेशनल पेमेन्ट स्वीचमा ३६ वटा बैंक÷वित्तिय संस्था र ३ भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ३९ वटा संस्था आबद्ध भइसकेका छन् ।