एजेन्सी, १८ पौष । अफ्रिकाको विश्वकप भनिने अफ्रिका कप अफ नेसन्समा यूरोपमा खेलिरहेका महङ्गा केही खेलाडीहरु रोकिने भएका छन् । आउँदो हप्ताबाट प्रतियोगिता सुरु हुन लाग्दा यूरोपका क्लबहरुले कतिपय अफ्रिकी खेलाडीहरुलाई छुट्टी दिन मानेका छैनन् । लिग महत्वपूर्ण घडीमा पुगेकोले एक महिना अफ्रिकी खेलाडीलाई क्यामरुन पठाउन क्लबहरु सहमत नभएका हुन् ।
सेनेगलका राष्ट्रिय खेलाडी इस्माइला सारलाई वाटफोर्डले नछाड्ने भएको छ । उनी देशका लागि खेल्न तयार भएपनि वाटफोर्डले आफ्ना महङ्गा खेलाडीलाई छुट्टी नदिने जवाफ दिएपछि सेनेगलले फिफाको हस्तक्षेप चाहेको छ ।
इंग्लिस फुटबल क्लबका अलावा यूरोपका महत्वपूर्ण क्लबबाट खेल्ने अफ्रिकी खेलाडीहरु रोकिएपछि अफ्रिकी देशहरुले गम्भीर प्रश्न उठाएका छन् । कोरोना भाइरसको संक्रमणलाई कारण देखाइएपनि यूरोकप कोरोना महामारीको बेलामा गरिएको विषय पनि उठाइएको छ ।
वाटफोडले नाइजेरियाली खेलाडी इमानुयल डेनिसलाई पनि अफ्रिका कप अफ नेसन्नका लागि जान दिएन । नाइजेरियाले उनको साटो अर्को खेलाडीलाई समावेश गरिसकेको छ ।
इंग्लिस प्रिमियर लिगमा अफ्रिकाका धेरै खेलाडी छन् । आर्सनलमा ४, एस्टन भिल्लाबाट ३, ब्रेन्टफोर्डबाट ४, ब्राइगटनमा १, बर्नलेबाट १, चेल्सीबाट १, क्रिस्टल प्यालेसबाट ४, इभर्टनबाट २, लिसेस्टर सिटीबाट ४, लिभरपुलबाट ३, म्यानचेस्टर सिटीबाट १, म्यानचेस्टर युनाइटेडबाट २, साउथेप्टनबाट २, वेष्ट एमबाट १, वल्भसबाट २ खेलाडी खेल्छन् । तीमध्ये कतिपय खेलाडीलाई क्लबहरुले छुट्टी दिन मानेका छैनन् ।