Logo

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा घोषणा गर्न विश्वभक्त बाबाको माग



काठमाडौं, १९ पुस । राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा एकता दिवसको दिन पुस २७ गते सार्वजनिक बिदा दिन विश्वभक्त बाबाले माग गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै भगवान भक्त बाबाले एकता दिवसको दिन पुस २७ गते सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै विश्वभक्त बाबाले राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा एकता दिवसको अवसरमा सरकारले पुस २७ गते सार्वजनिक बिदा दिनुपर्ने बताए । पृथ्वीनारायण शाहले दिएको सन्देश बिर्सदै गएको कारण देशमा आज यो अवस्था उत्पन्न भएको उनले धारणा राखे । उनले पृथ्वीनारायण शाह नै यो देशको निर्माता हुन् भन्दै अहिलेका राजनीतिक दलहरुले देश बेचेर खान लागेको आरोप लगाए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’लगायत धेरै दलका नेताहरुलाई एकस्थानमा जम्मा गरेर अन्तरक्रिया गर्ने आफ्नो चाहाना भएको सुनाए ।

आफु भगवानको भक्त भएको सुनाउँदै विश्वभुमिले आफ्नो बदनाम पत्रकारहरुले नै गरेको आरोप समेत लगाए । उनले राष्ट्र बचाउनको लागि ७ वर्षदेखि १२ वर्ष सम्मका बच्चाहरुलाई लिएर सडकमा उत्रने समेत चेतावनी दिए । उनले भने, ‘युवाहरुलाई हातमा लिएर अब म हिड्दिन् । मलाई कसैले कारबाही गरे पनि डराउदिन । अब म देश बचाउनको लागि बालबालिका लिएर हिड्छु ।’

बाबाले माओवादी अध्यक्ष प्रचण्डलाई १७ हजार नेपालीलाई मारेर अध्यक्ष भएको भन्दै सैतानको संज्ञा दिए । प्रधानमन्त्री देउवालाई रामायणको रावणको संज्ञा दिए । राष्ट्रको निर्माणको क्रममा धेरै परिवारका हजुरबुवा, दाईहरु सबै सहिद भएको भन्दै उनीहरुको नाम सहिदको सुचीमा नसमेटिएको पनि गुनासो गरे । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको देश लुट्न हस्ताक्षर गर्नमा ठुलो हात रहेको समेत उनले आरोप बताए । राजनीतिक दलहरुले आफूलाई मार्न खटाएको आरोप लगाउँदै आफूलाई पशुपतिनाथले रक्षा गर्ने बताए ।

अधिवक्ता त्रिलोक बहादुर चन्दले नेपालीहरु चार वर्ण छत्तिस जातभित्र रमाएर बसेको बताए । नेपालीहरुलाई विदेशी एनजीओ र शक्तिले बिर्गान खोजेको उनको भनाई थियो । पृथ्वीनारायण शाहले नेपालीहरुलाई एकताबद्ध रुपमा मालामा उनेर राखेको भन्दै पृथ्वी जयन्ती सधै मनाउन पर्छ भनेर आफुहरु उभिएको सुनाए । ऐतिहासिक विर पुरुषहरुलाई सम्झदै उनीहरुको योगदानलाई कदर गर्दै दिव्यउपदेशलाई कार्यान्वयन गर्न जन्म जयन्ती मनाउन पर्ने उनले धारणा राखे ।

केपी शर्मा ओलीले संसद विगटन गरेपछि न्यायलयले परमादेश जारी गरेर व्युताएको बताए । पछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको उल्टै राजीनामा माग गरिएको उनले बताए । न्यायालयमा घुस लिने र दिने दुवै भ्रष्ट हुन् भनेर थाहा हुँदाहुँदै पनि कानुन मुख दर्शक भएर बसेको उनले आरोप लगाए । नेपालमा लागु भएको विभिन्न कोटा र आरक्षणलाई खारेज गर्न उनले माग गरे । उनले वास्तविक पीडितहरुको समस्या पहिचान गरी समाधान गर्नपर्नेमा उनले जोड दिए । नेपालले संघियता नेपालले थेग्नै नसक्ने उनको भनाई थियो । कार्यक्रम संचालन अभियन्ता राजु गिरीले गरेका थिए ।

राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष तेजराज भुजेलले पृथ्वीनारायण शाह राष्ट्रपिताको कारण आज नेपाली भएर बाच्न पाएको बताए । नेपालको राष्ट्रपिता पृथ्वीनारायण शाह भएको जिकिर गर्दै भने, ‘जसले देशलाई नेपाल भनेर चिनाए, जसको कारण आज नेपाली भन्न पाएको छौ, तिनको लागि जन्म जयन्ती मनाउनुपर्छ भनेर उनको शालिकमा माल्यार्पण गर्न जाँदा रगताम्मै हुँदा निकै दुख लाग्छ ।’ अहिले देशमा समेटिएको भुभाग अहिलको राजनेताले बनाएको हो ? उनले राजनीतिक दलहरुलाई प्रश्न गरे । उनले पछिल्लो समयमा नेताहरुले आफ्ना बाबु, प्रिती र राष्ट्रपितालाई बिर्सेको उनको आरोप छ । ‘एक वर्षको एकदिन जम्मा बिदा मनाउन यो राज्यको के जान्छ ?’–उनले भने, ‘अहिलेका नेताहरुलाई भ्रष्टको संज्ञा दिन बाध्य भएका छौं ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको विरोध नबुझेर गरिरहेको अभिव्यक्ति दिइरहेको विषयमा उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको विरोध नबुझेर गरिरहेको भन्नु भएको छ । उसोभए एमालेका नेता भिम रावल अनपढ र गवार हुन् त ?’ एकपटक प्रधानमन्त्री देउवालाई एमसीसी सम्झौता राम्रोसँग अध्ययन गर्न उनले आग्रह गरे । महाकाली नदीलाई भारतको पनि हो भनेर गरेको सम्झौताले आज नेपाललाई निकै नोक्सान पुगेको उनको भनाई थियो । देशलाई एक रत्ति घाटा हुने काम नगर्न उनले सरकारसँग आग्रह गरे ।

एमसीसी पास गरेर नेपालीहरुलाई अमेरिकाको दास र ग्ुलाम बनाउन खोजेको उनले आरोप लगाए । उनले भने, ‘१२ अर्बको लागि सम्पुर्ण नेपाली गुलामी बनाउन खोजिएको हो । यो नेपालीलाई कुनै पनि हालतमा मान्य हुँदैन् र एमसीसी सम्झौतामा हस्ताक्षर गर्नेहरु सबैको औंलाहरु काट्नेछौ ।’ उपाध्यक्ष भुजेलले राष्ट्रनायक, राष्ट्रका जन्मदाता पृथ्वी नारायण शाहको जन्मजयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदाको आहुवान गर्नपर्नेमा जोड दिए । यदि बिदा दिन नसकेपनि सरकारले सके सहयोग र नसके रोक्ने र अभियन्ताहरुमाथि रगताम्मै बनाउने कुचेष्टा नगराउन समेत उनको आग्रह छ ।

यसैगरी, राजनितिक विश्लेषक प्रकाश रायमाझीले नेपालीले पिता पुर्खालाई सम्झेर पृथ्वी नारायण शाहको जन्मजयन्ती मनाउनुपर्ने बताए । राजा शाहले गरेको योगदानलाई सम्मान गर्न नसेकमा असली नेपाली हुन नसक्ने उनको भनाई थियो । पछिल्लो समयमा नेपालमा माओ र लेनिनको पुजा हुन्छ भन्दै उनले भने, ‘पृथ्वीनारायण शाहले नेपाललाई सबै भाषा जातजातिलाई विश्वसामु चिनाउने काम गरेका हुन् । माओ र लेनीन भनेको शाह भन्दा पछाडीका हुन् । सबै घटनाक्रमलाई हेर्दा पृथ्वी नारायण शाहको योगदान उत्कृष्ट रहेको छ ।’ पृथ्वीनारायण शाहको विरोधको कुनै अर्थ नहुने पनि उनको भनाई थियो ।

एमसीसी सम्झौता नेपाली र नेपालको स्वाधिनता माथि केही असर पर्छ की पर्दैन् त्यसको बारेमा प्रष्ट हुनुपर्ने उनले बताए । एमसीसी पास गरेमा र हस्ताक्षर गर्नेहरुको हातका औंलाहरु काट्ने पनि उनले चेतावनी दिए । स्वतन्त्र देश नेपाललाई असर गर्ने कुनै पनि काम भएमा नेपाली चुप लागेर नबस्ने उनको भनाई छ । उनले एमसीसी समर्थकहरुलाई समुदायमा बहिस्कार गर्ने योजना पनि रहेको जानकारी दिँदै उनले भने, ‘एमसीसी समर्थकहरुलाई समुदायमा बहिस्कार गर्दा राष्ट्रवादी र राष्ट्रविरोधीको पहिचान गर्न सजिलो हुन्छ ।’

कार्यक्रममा बोल्दै पृथ्वीनाथ राईले पृथ्वीनारायण शाहको दिव्यपदेशहरु सम्पुर्ण देशका लागि उपयुक्त भएको बताए । ‘‘घुस लिने र घुस दिने दुवै भ्रष्ट हुन् । देशका यस्ता भ्रष्ट्राचारीहरुलाई जति सजाय दिएपनि कम हुन्छ ।’’–उनले भने । पृथ्वी नारायण शाहले दिएका दिव्यपदेशहरु सबै देशको लागि उपयुक्त हुन्छ ।’

उनले पृथ्वीनारायण शाहले पुर्वदेखि पश्चिम सतलजसम्म गरेको एकिकरण देश चलाउने सरकारलाई जानकारी हुन आवश्यक रहेको बताए । अहिले पृथ्वी नायारण शाहको बहुउपयोगी दिव्यउपदेशलाई उपेक्षा गर्दै न्यायालयहरु अगाडी बढेको उनले आरोप लगाए । सर्वोच्च अदालतमा अहिले घुस लिन पाउनुपर्छ भन्दै न्यायाधिशहरुले आन्दोलन गरीरहेको उनको भनाई थियो । सर्वोच्च अदालतमा उनीहरुले जनताहरुलाई दुख दिएको र जनताहरु मुख दर्शक मात्र भएको उनले बताए । अहिलेको समयमा राजनीतिक दलहरुले प्रधानन्यायाधीशलाई नै आफ्नो हातमा लिन खोजेको उनको आरोप थियो । न्यायलयले आज तथानाम निर्णय गर्दा देशका जनताले दुख पाएको उनको भनाइ थियो ।

अधिवक्ता आकृति रायमाझीले पृथ्वी नारायण शाहको जन्म जयन्ती एउटा चाडपर्वको रुपमा मनाउनपर्ने बताइन्् । सर्वोच्च अदालतमा जारी नेपाल बारको आन्दोलनलाई इशारा गर्दै रायमाझीले भनिन्, ‘अदालत जस्तो गरिमामयय स्थानमा कालो कोट लगाएर आन्दोलन गर्ने जुन अन्याय हो । कानुन व्यवसायीहरुको हकहितमा लाग्नुपर्ने कानुन व्यवसायीहरु नै आन्दोलनमा उत्रेपछि उनीहरुको सम्पत्ति छानबिनको लागि उजुरी दिएका छौ ।’

 



प्रतिक्रिया दिनुहोस्