काठमाडौं, २९ पौष । कुनै संस्था खोल्यो कि कार्यकर्ता भर्तीकेन्द्र बनायो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा कतिपय कार्यालय स्थापना गरेर कार्यकर्ता भर्ती गरे । त्यसो त एमाले कार्यकर्ता व्यवस्थापनमा सबैभन्दा अगाडि छ ।
एमालेका कार्यकर्ता सरकारी संस्था, विभिन्न आयोगहरुमा व्यवस्थापन गरिएका छन् । देशभर खोलिएका सहकारीमा पनि एमालेका कार्यकर्ता हावी छन् । यतिसम्मकी खानेपानी देखि कुलो होस् या विद्यालय व्यवस्थापनमा नै किन नहोस् एमालेका कार्यकर्ताले पकड बनाउने क्रियाकलाप गर्न थालेका छन् ।
एमालेकै सिको गरेर अन्य दलले पनि त्यही गर्न थालेका छन् । यो घटना नेपाल रेल्वे कम्पनीमा देखिएको छ । रेल्वे कम्पनीमा विगतमा एमालेका कार्यकर्ता भर्ती गरिएका थिए ।
डेढ सय जना कार्यकर्तालाई ओलीले रेल्वे कम्पनीमा व्यवस्थापन गर्न सकेका थिए । उनीहरुलाई गत वैशाखदेखि असारसम्म दुई चरणमा तालिम समेत दिइएको थियो । त्यसवापत् १ करोड १५ लाख खर्च देखाइएको छ । तलबभत्ता पनि दिइएको छ ।
अहिले तालिम लिएका एमाले कार्यकर्तालाई सत्ता गठबन्धनबाट योजनावद्ध तरिकाले हटाइएको छ । रेल्वे कम्पनिीमा महाप्रबन्धकमा निरञ्जन झा नियुक्त भएका थिए । यसअघिका महाप्रबन्धक गुरु भट्टराई विवादमा परेपछि राजीनामा दिन वाध्य भए ।
गुरु भट्टराईले कर्मचारी भर्ती गरेर राजीनामा दिन पुगेका थिए । तर, नयाँ महाप्रबन्धक झाले पुरानालाई हटाएर नयाँलाई भर्ती गरे । ५५ जना नयाँ कर्मचारीलाई दैनिक ज्यालादारीमा नियुक्त गरे । यसवापत् मोटो रकम असुल गरिएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार रेल्वे सेवामा भर्ती गर्न जसपा अध्यक्ष उपेन्द्र यादव, भौतिक पूर्वाधारमन्त्री रेणु यादवको संलग्नता देखिएको छ । उनीहरुले भनेबमोजिम झाले नाम टिपेर भर्ती गरेको बुझिएको छ । त्यसवापत् विभिन्न च्यानलबाट पैसा असुलिएको विश्वस्त स्रोतले बताएको छ ।
भारतीय रेल कम्पनी कोकर्णले तालिम दिइसकेकाहरु हटाइएपछि अर्को टोलीलाई पुनः तालिम दिनुपर्ने अवस्था बनेको छ । यसपावत् कोकर्णले अर्को डेढ करोड लाने अवस्था बनेको छ ।
कुर्था जयनगर रेल सेवाको परीक्षण भइसक्दा कर्मचारी हटाएर नयाँलाई भर्ती गरिएबाट रेलमा ठूलै राजनीतिक देखिएको छ । यसले झण्डै दुई वर्षपछि घुम्टो खोलिएको रेलमा पुनः खिया लाग्ने सम्भावना बढेर गएको छ ।