काठमाडौं, ४ माघ । सत्तापक्षीय गठबन्धनभित्र चुनावलक्षित छलफल सुरु भएको छ । आज बसेको सत्तापक्षीय उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचन बैशाखमा गर्ने सहमति भएको भनिएपनि भित्री रुपमा गठबन्धनमा तीनै तहका निर्वाचन एकैपटक गर्नेबारे छलफल भएको बुझिएको छ ।
स्रोतकाअनुसार सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका केही नेताहरुले समेत तीनै तहको निर्वाचन एकैपटक गराउनेबारे प्रस्ताव अघि सारेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भने समयमै सबै चुनाव गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
निर्वाचनको विषयमा कांग्रेसभित्र शीर्ष नेताहरुबीचमा नै मतभेद छ । गठबन्धनमा आवद्ध केही दलका नेताहरुले पहिला प्रतिनिधिसभाको निर्वाचन गरौं भन्ने प्रस्ताव अघि सारेका थिए । तर, प्रतिनिधिसभाको निर्वाचन गराउँदा सर्वोच्च अदालतले जारी गरेको परमादेशको पनि कुरा आउने भएकोले सकेसम्म गठबन्धनमा आवद्ध दलहरु प्रतिनिधिसभाको पूरा अवधि नै सरकार चलोस भन्नेमा पनि सचेत छन् ।
स्थानीय तहको निर्वाचन नगरी प्रतिनिधिसभाको मात्रै निर्वाचन गराउँदा संविधान बाधा हुने बुझिएको छ । त्यसको लागि बरु अध्यादेश नै ल्याएर भएपनि प्रतिनिधिसभाको निर्वाचन पहिले गराउन सकिने बुझिएको छ । उपेन्द्र यादव र माधव कुमार नेपालले तत्कालै स्थानीय तहको निर्वाचनमा नजाऔं भन्ने धारणा राखेको बुझिएको छ । उनीहरुले बरु तीनै वटा चुनाव आगामी मंसिरमा गर्ने प्रस्ताव राखेका थिए । समय र खर्च पनि कम हुने उनीहरुको भनाई थियो । यसमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पनि सहमत रहेको बुझिएको छ ।
तर, निर्वाचन आयोगले भने तीनै चरणमा निर्वाचन गराउन नसक्ने भनेर सरकारलाई स्पष्ट जवाफ दिईसकेको छ । तीनै तहको निर्वाचन गराउँदा आउनसक्ने संवैधानिक बाध्यताबारे केन्द्रित रहेर चुनावबारे पर्सी (बिहीबार) बस्ने समन्वय समितिको बैठकमा छलफल हुने जनाईएको छ । आजको बैठकमा अझैपनि एमाले बलियो रहेको भन्दै स्थानीय तहको निर्वाचनभन्दा पहिले प्रतिनिधिसभाको निर्वाचन हुनुपर्ने कुरा जोडतोडले उठेको थियो ।
आजको बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमत भएको कुरा बाहिर आएको थियो ।
सरकार सञ्चालनमा सहयोग गर्न नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा काँग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सदस्य छन् । साथै. राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल पनि समितिमा सदस्य छन् ।