काठमाडौं, ४ माघ । नेपाल आयल निगमको संचित सून्य भएको छ । संचितमा कुनै रकम नभएपछि उसले पेट्रोलियम पद्धार्थ आयातका लागि सरकारसँग ऋण मागेको छ ।
आगामी ९ माघभित्र निगमले इन्डियन आयल कर्पोरेशनलाई पठाउनुपर्ने रकममा २ अर्ब अपुग हुने भएको छ । निगमले ३ माघमा विज्ञप्ति जारी गरी घाटा विवरण पेश गर्दै तत्काल रकम व्यवस्था गरी आपूर्ति सहज बनाउनुपर्ने वाध्यताबारे उल्लेख गरेको छ । तेल आपूर्तिका लागि उसले रकम व्यवस्थापनका लागि सरकारलाई अनुरोध गरेको हो ।
निगमले मासिक ४ अर्ब रुपैयाँ भन्दा बढी घाटा रहने देखिएकाले ३ महिनासम्मका लागि तेल आपूर्तिका लागि न्यूनतम १२ अर्ब रुपैयाँ आवश्यकता रहेको उल्लेख गरेको छ ।
तेलको मूल्य अत्याधिक वृद्धि भइरहेको समेत निगमले जनाएको छ । ६ महिनाबीच १२ पटक मूल्यवृद्धि भइसक्दा ३ पटक मात्र समायोजन गरेको समेत उल्लेख गरेको छ ।
निगमले १५ दिनमै २ अर्बभन्दा बढी घाटा व्यवहोरेको समेत जनाएको छ । निगमले अत्याधिक घाटा व्यहोरेसँगै मूल्य समायोजनको सम्भावना बढेको छ । यसका लागि निगमले सरकारसँग अनुमती माग्दै आएको छ ।