काठमाडौं, ५ माघ । नेपाल प्रहरीका डिआइजी धीरजप्रताप सिंह बालुवाटारका अतिप्रीय भएका छन् । पश्चिम घर भएका सिंहलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा लानुमा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि चाहना थियो ।
आफ्नो क्षेत्रका लागि मरिमेट्ने स्वभावका देउवाले सिंहलाई प्रहरीको आकर्षक सीआइबीमा लगे जहाँ उनले ललिता निवास जग्गा प्रकरणको फाइल खोले । निरज शाही निर्देशक हुँदा सीआइबीले ललिता निवास प्रकरणमा अनुसन्धान गरेको थियो । ३ सय भन्दा बढीलाई संलग्न देखाएको थियो । त्यही प्रमाणका आधारमा सीआइबीले ठूलै हल्ला मच्चायो ।
ललिता निवास प्रकरणको फाइल खोल्दा सत्तामा बसेकाले राजनीतिक लाभ समेत लिन सकेको बुझिएको छ । यसको पुरस्कार स्वरुप डिआइजी धीरजप्रताप सिंह एआइजीमा बढुवा हुने भएका छन् ।
अहिले एआइजीको पद खाली छैन । सिंहका लागि दरबन्दी नै सृजना गरिदैछ । यसका लागि मन्त्रिपरिषदमा प्रस्ताव नै पुगिसकेको बुझिएको छ । अर्थ मन्त्रालयले स्वीकृती नदिंदा फाइल फर्किएको छ । अब स्वीकृती दिएर अगाडि बढाउने भएको छ ।
हाल प्रहरीमा प्राविधिकबाहेकको ५ एआइजीमा हरिबहादुर पाल, निरज शाही, प्रद्युम्न कार्की, विश्वराज पोखरेल र सहकुल थापा छन् । विगतमा तीन एआइजीको दरबन्दी थियो । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दरबन्दी बढाइयो । सुरुमा दरबन्दी सृजना गरी पोखरेल एआइजी भए त्यसपछि थापा एआइजीमा बढुवा भए ।
अब तीनजनाको दरबन्दी सृजना गरी धिरजप्रताप सिंहलाई पहिलो नम्बरमा राखेर बढुवा गरिदैछ । भावी आइजीपीमा सिंहलाई बलियो प्रतिष्पर्धीका रुपमा उभ्याइँदैछ । यसैगरी, माओवादीले रवीन्द्र धानुकलाई एआइजी बनाउन लबिङ बढाएको छ । धानुकलाई बनाउन अर्थमन्त्री जर्नादन शर्मा शक्ति प्रदर्शन गरिरहेका छन् ।