Logo

राष्ट्रियसभा निर्वाचन: मधेस प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन



आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा मधेस प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच गठबन्धन गर्ने सहमति भएको छ । मधेस प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन गर्ने सहमति आज (बिहिबार) भएको हो ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव र लोसपा मधेस प्रदेश कमिटीका अध्यक्ष जितेन्द्र सोनलले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोसपाकी उम्मेदवार रुपाकुमारी यादवलाई दुबै पार्टीले एकअर्कालाई मतदानमा सघाउने भएका छन् । मधेस प्रदेशमा एमाले र लोसपाले गठबन्धन बनाए पनि सत्तारुढ गठबन्धनका उम्मेदवारलाई हराउन नसक्ने देखिन्छ । मतभारको आधारमा अन्य प्रदेशजस्तै मधेस प्रदेशमा पनि सत्तारुढ गठबन्धन नै बलियो रहेको छ ।

मधेस प्रदेशमा दुई सिटमा सत्तारुढ गठबन्धन र प्रतिपक्षी गठबन्धनका बीचमा प्रतिस्पर्धा हुँदैछ । निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चाले मधेस प्रदेशमा साझा उम्मेदवार उठाएका छन् ।प्रतिपक्षी एमाले र लोसपाको छुटाछुटै उम्मेदवारी परेको छ । मधेस प्रदेश महिलातर्फ माओवादी केन्द्रबाट उर्मिला अर्याल, लोसपाबाट रुपाकुमारी यादव र एमालेबाट विना देवीको उम्मेदवारी परेको छ ।

यस्तै अन्यमा समूह तर्फमा जसपाबाट महमद खालिद र एमालेबाट उसमान अंसारीको उम्मेदवारी दर्ता भएको छ ।निर्वाचन आयोगका अनुसार देशैभरीबाट १९ सिटका लागि ४३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । माघ १२ गते हुने निर्वाचनमा सम्बन्धीत प्रदेशका प्रदेश सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने कानुनी व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्