Logo

पिसीआर परीक्षण पुर्ण निःशुल्क गर्न नेविसंघको माग



काठमाडौं, ७ माघ । सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले कोभिड–१९ को पिसीआर परीक्षण पूर्ण रुपमा निशुल्क गर्न माग गरेको छ। आज नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले एक विज्ञप्ती जारी गर्दै पिसीआर परीक्षण पुर्ण रुपमा निःशुल्क गराउन सरकार तथा स्वास्थ्य मन्त्रालयसंग माग गरेका हुन् ।

‘प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाइएको सकारात्मक कदमको सह्राना गर्दै पीसीआर परीक्षण पूर्ण निःशुल्क गराउन सरकार तथा स्वास्थ्य मन्त्रालयसँग माग गर्दछु,’ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

कोरोना संक्रमणदर उच्च भएको र परीक्षणको दर बढाउन जरुरी भएको हुँदा सबै नागरिकको हितलाइ ध्यान राख्दै देशभरका स्वास्थ्य संस्थाहरुबाट निःशुल्क पीसीआर परीक्षण हुनुपर्ने नेविसंघको माग छ ।

स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाएर सरकारी अस्पतालमा ८०० रुपैयाँ र निजी अस्पताल तथा ल्याबहरुले १५०० रुपैयाँ शुल्क तोकेको छ । यसअघि सरकारीमा १ हजार रुपैयाँ र निजीमा २ हजार रुपैयाँ शुल्क तोकिएको थियो।



प्रतिक्रिया दिनुहोस्