काठमाडौं, ७ माघ । ‘गौर नरसंहार’ लाई भौतिक पूर्वाधारमन्त्री रेणु यादवले स्मरण गराइदिएकी छिन् । उनले सीके राउतलाई धम्की दिने क्रममा गौर नरसंहारबारे बोलिन् जसमा उनकै दलका अध्यक्ष उपेन्द्र यादव मुछिएका छन् ।
१८ हजार मारिने गरी भएको माओवादी सशस्त्र गतिविधिपछि देशले शान्तिको स्वास फेर्दै थियो । मधेशमा केही सशस्त्र समूहले हिंसा मच्चाइरहेका थिए । तर, एकैपटक ठूलो संख्यामा हत्याका घटना मधेशका सशस्त्र समूहबाट भएन । मधेशको अधिकारको लागि भन्दै उठेको तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताबाट भने एकैपटक २७ जनाको विभत्स हत्या भयो ।
७ चैत्र २०६३ मा रौतहटको राइस मिल मैदानमा २७ जनाको केही घन्टामै कत्लेआम भएको थियो । यो कुनै घोषित सशस्त्र समूहबाट भएको थिएन । मधेशको अधिकारको लागि भन्दै जन्मिएको मधेशी जनअधिकार फोरमका कार्यकर्ताबाट भएको थियो । जुन राष्ट्रिय मानवअधिकार आयोगको रिपोर्टमा स्पष्ट उल्लेख छ ।
त्यो दिन विहानै देखि गौरको राइसमिलमा तनाव बढिरहेको थियो । तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरमले राइस मिलमा एकै दिन एकै समयमा कार्यक्रमको तयारी गरे । दुवै टसमस भएनन् । दुवैले कार्यक्रमको मिति र समय सारेनन् ।
माओवादीले राइस मिलको मैदानमा मञ्च निर्माण गर्यो । मैदानको एक छेउमा फोरमले अर्को मञ्च निर्माण गर्यो । सुरुमा मञ्च एकै ठाउँमा बनाउन लागेका थिए । तर, पहिले फोरमले गर्ने त्यसपछि माओवादीले गर्ने समझदारीमा केही मिटर दुरीमा मञ्च निर्माण गरेका थिए ।
मञ्च निर्माणको केही बेरमै फोरमका कार्यकर्ताले माओवादीको मञ्च भत्काइदिए । जवाफमा माओवादी कार्यकर्ताले पनि फोरमको मञ्च भत्काए । घटना योजनावद्ध नै थियो ।
फोरमका सशस्त्र जत्था लुकेर बसेका थिए । मञ्च भत्काएपछि उनीहरु निस्किएर माओवादी कार्यकर्तामाथि आक्रमण गर्न थाले । राइसमिलमा रगत बग्यो । माओवादीका वाइसिएल कार्यकर्ताको भागदौड मच्चियो । रौतहट बाहिरबाट लगिएका कार्यकर्ता पनि थिए । उनीहरुमध्ये महिलाको विभत्स हत्या भएको थियो । सयौं घाइते भए ।
घाइते प्रतिमा खातुत, रेखा परियार, उषा थापा र सरस्वती उप्रेतीलाई भालाले रोपेर जिउँदै आगो लगाएर हत्या गरेका थिए । महिलाको स्तन समेत काटेका थिए । जीवनका लागि हारगुहार गर्दा पनि विभत्स तरिकाले हत्या गरेका थिए । गौरदेखि पूर्वतर्फको बौधीमाई मन्दिरनजिक बाँसको फराठाले हानेर उनीहरुको हत्या गरिएको उल्लेख छ । माओवादीले बलात्कारपछि हत्या भएको भन्दै आएको छ ।
राइस मिलबाट पाँच किलोमिटर टाढा अर्को हत्या भएको थियो । भागिरहेका माओवादी कार्यकर्ताहरुलाई बागमदी नदीबाट कब्जामा लिई हजमनिया बोधिमाई मन्दिरमा हत्या गरे । माओवादीको बली दिने भनी ११ जनाको विभत्स हत्या भएको थियो ।
गौर बजारमा रहेको गेष्ट हाउमा लुकेर बसेका माओवादी कार्यकर्तालाई घरबाहिर थुती गोली हानी कुटीकुटी मारेका थिए । मारिनेमा रौतहटकै दिपक पाण्डे, रेखा परियार पनि थिए । घटनामा रौतहटका ९, मकवानपुरका ८, बाराका ४, बाजुरा, सिन्धुली, पर्सा र दाङका एक एक गरी २७ जना मारिएका थिए ।
गौर हत्याकाण्डका दोषीलाई कारवाही नगरे भद्रकालीमा अनशन बस्ने पीडित परिवारको चेतावनी (भिडिओसहित)
हत्यामा तत्कालीन फोरमका नेता उपेन्द्र यादवमाथि आरोप लागेको थियो । उनीविरुद्ध जोहरी समेत दर्ता भएको थियो । बबन सिंह खोजीमा परेर फरार भएका थिए । उनले फरार हुँदै गर्दा रौतहटबाट स्वतन्त्र उम्मेदवारका रुपमा प्रत्यक्षतर्फ चुनाव जितेर आश्चर्यमा पारेका थिए । घटनामा आरोपी बाबुलाल साह प्रदेशसभा सांसद भए । ललन सिंह, चन्द्रिका सिंह, भुषण सिंह, अजय गुप्ता, गौरीशंकर, गगनदेव बैठा, शम्भु साह, बलराम सिंह कुँवर, गणेशमान यादवलगायतको संलग्नताबारे रिपोर्टमा उल्लेख गरिएको छ ।
गौर नरसंहारमा मृत्यु भएका २७ जनाका परिवारले राज्यबाट प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले राहत पाएका थिए । तर, अहिलेसम्म दोषीमाथि कारबाही भएको छैन । हालका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित ११३ जनाविरुद्ध कर्तव्य ज्यानको मुद्दा दर्ता भएको छ । तर, मुद्दा किनारा लागेको छैन ।
यसैगरी, गौर हत्याकाण्ड संघर्ष समिति गठन भइसकेको छ । घटनामा घाइते र पीडितका परिवारले समिति बनाएर दोषीमाथि कारबाहीको माग गर्दै आएका छन् । समितिका संयोजक रुपसागर उपाध्यायले दोषीलाई कारबाहीकोे माग गरेका छन् ।
समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘२०६३ साल चैत्र ७ गते रौतटहटको गौरस्थित् राईस मिल चौरमा दिउँसो १ः४५ बजे उपेन्द्र यादवको नेतृत्वमा रहेको तत्कालिन मधेशी जनअधिकार फोरमले पेशेवर अपराधिक समूहको जत्थाको उपयोग गर्दै सुनियोजित रुपमा भिषण एवम् अमानवीय, अमानुषिक एवं नरसंहारकारी, आक्रमणबाट २७ जना सर्वसाधारणको मृत्यु र सयौंको संख्यामा निर्दोष नागरिकहरु घाईते भएका थिए । स्वचालित बन्दुक, धारिलो हतियार लगायत ढुंगा ईट्टाको प्रयोग गरि अझ महिलाहरुलाइ बाँसको भाटाले संवेदनशील अंगहरुमा घोचेर, बलात्कार गरी स्तन काटेर छट्पटिरहेको अवस्थामा जिउँदै आगो लगाएर हत्या गरिएको थियो ।’
विज्ञप्तीमा थप भनिएको छ,‘अमानवीय र विभत्स हत्या गर्ने गौर हत्याकाण्डका हत्यारा अपराधीहरुलाई वर्षौ वर्षसम्म पनि अनुसन्धानको दायरामा ल्याई कारबाही नगरेको कारणले पीडितहरुको आँखा अगाडि नै अपराधीहरु खुलेआम घुमि रहेको देख्नु पर्दा हामीलाई अझ बढि पीडाबोध हुन गएकाले दोषीलाई कानून बमोजिम अविलम्ब कारबाही गर्नुपर्ने अन्यथा यस घट्नालाई अन्तर्राष्ट्रिय न्यायाल वा निकायमा प्रस्तुत गरी अन्तर्राष्ट्रियकरण लगायत राष्ट्रियस्तर समेतमा विविध प्रकारका संघर्षका कार्यक्रमहरु सञ्चालन गर्न बाध्य हुने भनि सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष ज्ञापनपत्र र राष्ट्रिय आयोगलाई ध्यानाकार्षण गराइएकोले यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।’