काठमाडौं, ७ माघ । निर्वाचनलाई राजनीतिक छलछामको विषय नबनाउन बृहत नागरिक आन्दोलनले चेतावनी दिएको छ। आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनले सत्तारुढ राजतीतिक दलहरुलाई निर्वाचनलाई राजनीतिक छलछामको विषय नबनाउन आग्रह गरेको हो।
आन्दोलनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनलाई कुनै पनि राजनीतिक छलछामको विषय नबनाउन प्रस्ट शब्दमा सावधान गराउँदछौ ।’
आन्दोलनले नेकपा (एमाले)लाई पनि जिम्मेवार भएर संसदमा प्रस्तुत हुनसमेत आग्रह गरेको छ । संसद्लाई स्वस्थ बहस गर्ने र जनताको आवाज पोखिने ठाउँ बनाउन रोकियो भने अलोकतन्त्रीकरण तीव्र हुने आन्दोलनले उल्लेख गरेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखमा गर्नुपर्ने स्थानीय तहको निर्वाचन सारेर मंसिरमा गर्ने र मंसिरमा गर्नुपर्ने संघीय प्रतिनिधि सभाको निर्वाचन वैशाखमा गर्न प्रस्ताव गरेको प्रति आन्दोलनले समयअघि नै प्रतिनिधि सभाको निर्वाचन गरिए केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेजस्तै हुने पनि बताएको छ । राजनीतिक दलहरुलाई त्यसतर्फ सचेत हुन आग्रह गरिएको छ ।