काठमाडौं, ९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना (एमसीसी) का बारेमा सत्ता गठबन्धनले भूराजनीतिक द्वन्द्वको विषय बनाउन खोजेको टिप्पणी गरेका छन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ संकेत गर्दै विरोधाभाषपूर्ण अभिव्यक्तिले विकास परियोजनालाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन भूमिका खेलेको टिप्पणी गरेका हुन् ।
‘अमेरिकी सहायता परियोजना एमसीसीका बारेमा सत्ता गठबन्धनकै नेताहरूले दिइरहेका विरोधाभाषपूर्ण अभिव्यक्तिले विकास परियोजनालाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन भूमिका खेलेका छन्,’ ओलीले विज्ञप्तिमा भनेका छन् ।
उनले गठबन्धनका नेताहरुले अमेरिकी अधिकारीहरुसँग एक खालको र आफ्ना कार्यकर्तासँग बेग्लै खालको कुरा गरेर द्वैध भूमिका खेलिरहेको आरोप लगाए । ‘अमेरिकी अधिकारीहरुसँग एक खालको र आफ्ना कार्यकर्तासँग बेग्लै खालको कुरा गर्ने गठबन्धन नेताहरुले द्वैध भूमिका खेलिरहेका छन् र जनतालाई दिग्भ्रमित पारिरहेका छन्,’ ओलीले भनेका छन् । उनको स्पष्ट संकेत प्रचण्डप्रति थियो । प्रचण्डले सार्वजनिक रुपमा एमसीसी यथास्थितिमा पारित नहुने बताइरहेका छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डसहित एमसीसी पारित गर्ने पत्र अमेरिकालाई लेखेको खुलाएका थिए ।
देउवाको समेत आलोचना गर्दै ओलीले विगतमा आफैले हस्ताक्षर गरेको सम्झौता ठिक थियो कि थिएन भनेर पाँच वर्षपछि अध्ययन कार्यदल बनाएर हाँस्यास्पद र कच्चा काम गरेको टिप्पणी गरे । ‘उनीहरुले हिजो आफैँले हस्ताक्षर गरेको सम्झौता ठीक थियो कि थिएन भनेर पाँच वर्षपछि अध्ययन कार्यदल बनाउने जस्ता हास्यास्पद र कच्चा काम गरिरहेका छन् ,’ ओलीले विज्ञप्तिमा भनेका छन् ।
गठबन्धनले एमसीसीबारे कार्यदल बनाएको छ । कार्यदलमा झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की छन् ।
ओलीद्वारा देउवा सरकारमाथि १५ बुँदे हमला (पूर्णपाठसहित)