Logo

ओमिक्रोनले विस्थापित गर्दैछ डेल्टा भेरियन्टलाई



माघ ९, काठमाण्डौ । पछिल्लो पटक ३२ जना कोरोना संक्रमितको जिन सिक्विन्सिङ गरेकोमा २८ जनामा ओमिक्रोन भेरियन्ट पुष्टी भएको छ । जुन ८८ प्रतिशत हुन आउँछ । बाँकी ४ जना अर्थात १२ प्रतिशतमा डेल्टा भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पनि डेल्टा भेरियन्टलाई ओमिक्रोनले प्रतिस्थापन गरेकोले स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले यो पनि भनेका छन् कि पछिल्लो समय नेपालमा कोरोनाको डेल्टा भेरियन्टलाई ओमिक्रोन भेरियन्टले विस्थापित गरेको छ । तथ्याङ्कले पनि त्यसलाई पुष्टी गरेको छ । नेपालमा आइतबार ६ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १३ हजार ३ सय ७७ पिसिआर परिक्षणका क्रममा ५ हजार ५ सय ९८ जना र ४ हजार ६० एन्टीजेन परिक्षणका क्रममा ८ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो । देशभर कोरोनाको औसत संक्रमण दर ४१.८ प्रतिशत रहेको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । पछिल्लो समय मृत्यु हुने संक्रमितहरु खोप नलगाएको पाइएकाले सबैलाई खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४९ हजार ४७३ जनाले खोप लगाएका छन् । १८ वर्षमाथिका ८४ प्रतिशतलाई पहिलो मात्रा र ६५ प्रतिशतले दुई मात्रा खोप लगाएका छन् । १२ देखि १७ वर्षका ७९ प्रतिशतले पहिलो मात्रा र ५५ प्रतिशतले दोस्रो मात्रा खोप लगाईसकेका छ् । कूल जनसंख्याको ६१ प्रतिशतले पहिलो मात्रा र ५५ प्रतिशतलाई दोस्रो मात्रा दिइएको मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा थप १ हजार ४ सय १६ संक्रमित निको भएका छन् । हाल नेपालमा ७७ हजार ४० सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो समय कोरोना संक्रमणदर वृद्धि हुँदै गएको छ । गत हप्ता ६२ हजार ६ सय ४५ आरटिपिसिआर परिक्षण गर्दा १९ हजार ७ सय ९२ जनामा संक्रमणपुष्टी भएको थियो । तर यो हप्ता ७६.२ प्रतिशतले बढेर १ लाख १७ हजार ४ सय २८ जनाको परिक्षणमा ५६ हजार ६ सय ५६ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमणदर ४८.२ अर्थात अघिल्लो हप्ताको भन्दा १८.५ प्रतिशतले बढि हो ।

 



प्रतिक्रिया दिनुहोस्