Logo

निर्वाचन आयोग र राप्रपाबीच द्वन्द्व चर्कियो



माघ ९, काठमाण्डौ । नेपालमा गणतन्त्र र धर्म निरपेक्ष स्थापना भइसकेपछि पनि राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डा बोकिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई संकट आइ लागेको छ । राप्रपालाई नेपालको संविधान विपरीत विधानमा राखिएका राजतन्त्र र हिन्दु राज्यको प्रावधान हटाउन निर्देशन दिएको छ । तर राप्रपाले उक्त निर्देशनलाई चुनौति दिएको छ । जसले गर्दा । राप्रपा र निर्वाचन आयोगबीच द्धन्द्ध चर्किने भएको छ ।

निर्वाचन आयोगले यही माघ २ गते दुई पृष्ठ लामो एक पत्र पठाएर राप्रपालाई नेपालको संविधान विपरीत विधानमा राखिएका राजतन्त्र र हिन्दु राज्यको प्रावधान हटाउन निर्देशन दिएको थियो । तर राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झण्डा लगायतका विषयमा निर्वाचन आयोगले उठाएको प्रश्न संविधानको मर्म र भावना विपरीत रहेको ठहर गरेको छ । पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा पदाधिकारी बैठकले आयोगको निर्णय पूर्वाग्रही भएको ठहर गर्दै कानुनी र राजनीतिक उपचार खोज्ने साथै यसबारे उपयुक्त समयमा आयोगलाई जवाफ दिने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।

कुनै पनि राजनीतिक दललाई बिचारको आधारमा प्रतिवन्ध लगाउन नपाइने व्यवस्था हुदा पनि आफ्नो दलका बारेमा अनावश्यक बिषयमा प्रश्न उठाउने अधिकार आयोगलाई नरहेको राप्रपाको ठहर छ । राप्रपाले ‘राजसंस्था’ र ‘हिन्दु राज्य’का उल्लेख भएको विधान संशोधनका लागि आयोगले दिएको निर्देशन मान्य नहुने स्पष्ट पारेको छ । राप्रपाका महामन्त्री भुवन पाठकले बैठकपछि एक वक्तव्य निकाल्दै यसअघि तीनै तहको निर्वाचनमा यही विधान अनुसार प्रतिस्पर्धा गरेर निर्वाचित भइसकेको अवस्थामा अहिले आएको आयोगको निर्देशन स्वीकार्न नसकिने जनाएका छन् ।

संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुकूल हुने गरी उल्लेख गर्नुहुन भनेर पठाएको पत्र संविधानको मर्म र भावना विपरीत भएको राप्रपाको ठहर छ । तर आयोगले भने सनातन हिन्दु राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्यांश नेपालको संविधानको प्रस्तावना एवम् भावनाको प्रतिकूल भएको जिकिर गरेको छ । संविधानका जानकारहरुले भने आयोगको तर्कलाई गलत भनेका छन् । पहिलेदेखि नै प्रयोग गर्दै आएको भाषा र चिन्हको विषयमा अहिले प्रश्न उठाउनु जायज नभएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी बताउँछन् ।

आयोगले नेपालका राष्ट्रिय प्रतीकलाई कुनै पनि दलको चुनाव चिन्ह या झण्डाका रुपमा प्रयोग गर्न नपाइने पनि भनेको छ । आयोगले राप्रपालाई चुनाव चिन्हका रुपमा प्रयोग गरिएको गाई हटाउन पनि भनेको छ । गाई नेपालको राष्ट्रिय जनावर हो । आयोगको निर्देशनप्रति राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पनि कडा आपत्ति जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्