काठमाडौं, १० माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन् । एक मन्त्रीले दिएको जानकारीअनुसार स्थानीय तहको निर्वाचनबारे छलफल गर्नेगरि प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीहरुलाई भोलि बालुवाटारमा बोलाएका छन् ।
पछिल्लो समय स्थानीय तहको निर्वाचन सार्नेगरि सत्तारुढ गठबन्धनले छलफल थालिरहेका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने यसको चर्को विरोध गरेको छ । उसले निर्वाचन सारिए आफूहरुलाई मान्य नहुने पनि चेतावनी दिएको छ ।
तर, सत्तापक्षीय गठबन्धनले भने तीनै तहको निर्वाचन एकै चरणमा गर्नेगरि छलफल अघि बढाएको र यसको लागि स्थानीय तह निर्वाचन ऐन संशोधन गर्नेगरि तयारी थालेको छ । निर्वाचनको मिति तोक्ने अधिकार सरकारलाई छ । निर्वाचन आयोगले त तीनै तहको निर्वाचन एकै चरणमा गर्न नसकिने भन्दै आएको छ ।