काठमाडौं, ११ माघ । विभिन्न मेडिकल कलेजहरुले विद्यार्थीसँग लिएको चर्को शुल्कको विरुद्ध भइरहेको विद्यार्थी आन्दोलनमा नागरिक समाज, अभिभावकहरु लगायतको ऐक्यवद्धताका निम्ति विद्यार्थी संगठनले अपिल गरेका छन् ।
नोबेल मेडिकल र काठमाडौं मेडिकल कलेज लगायत मेडिकल कलेजहरुमा चलिरहेको आन्दोलनमा विद्यार्थी संगठनहरुले देशभरका मेडिकल विद्यार्थी, अभिभावक, पत्रकार नागरिक समाज लगायतलाई सहभागिता र ऐक्यबद्धताको लागि अपिल गरेका हुन् ।
मंगलबार सबैलाई आन्दोलनमा एकवद्धता जनाउन आग्रह गर्दै नेविसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी बिध्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, मोहन बैध्य निकट अखिल (क्रान्तिकारी)का हरिकृष्ण गजुरेल, विप्लव बिध्यार्थी संगठनका अध्यक्ष प्रकाश शाही, अखिल छैठौंका देवेन्द्र कुँवर र अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराईले संयुक्त विज्ञप्ती जारी गरेका हुन् ।
संगठनलले कलेज प्रशासनको दुर्ब्यबहार र दमनको निन्दा गर्दै घाइते विद्यार्थीहरुको स्वास्थ्यलाभको कामना गरेका छन् । लामो समयसम्म विद्यार्थीको मागहरु सम्बोधन गर्न कलेज प्रशासन तयार नभएको भन्दै संयुक्त विद्यार्थी संगठनले मागपत्र टाँसेर केएमसी प्रशासनमा दुई दिन अघि ताला समेत लगाएको छ।