काठमाडौं, १३ माघ । चिकित्सकमाथि कुटपिट गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न माग गरिएको छ । चिकित्सक संघ नेपालले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सतिश साहलाई आक्रमण गर्ने प्रदर्शनकारीलाई कारबाही गर्न माग गरेको हो ।
अस्पतालको गाडीमा सवार रहेका साहमाथि हिजो सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आक्रमण गरेका थिए । आक्रमणबाट घाइते डाक्टर साहको टाउकोमा ८ वटा टाँका लगाइएको छ।
संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘चिकित्सकलाई गाडीको झ्यालको सिसा फुटाएर ज्यान जान सक्ने गरी टाउको र अनुहारमा निर्मम घाउ–चोट बनाउने कुकृत्यले हाम्रो समाजमा राजनीतिका नाममा व्याप्त रहेका असामाजिक तत्त्वहरूलाई नङ्ग्याएको छ ।’
यस्ता घटनाले चिकित्सकको मनोबलमा घट्ने चिकित्सक संघको भनाई छ ।
यस घटनाबारे सरकारसँग संघले दुई वटा माग पनि राखेको छ । चिकित्सकमाथि आक्रमण गर्नेलाई मानव अधिकार हनन, ज्यान मार्ने प्रयास र अत्यावश्यक सेवामा अवरोधलगायत मुद्दा चलाउनुपर्ने तथा नियमानुसार गैर जमानती हिरासतमा राख्ने र कडा सजाय दिन आग्रह गरेको छ । यदि माग पूरा नभएमा थप विरोधका कार्यक्रम ल्याउने पनि संघले चेतावनी दिएको छ।