Logo

अर्बको ऋण: लिने फरार, दिने चुपचाप !



काठमाडौं, माघ १४। लामो समयदेखि महँगा विदेशी मदिराको कारोबार गर्दै आएको व्यापारिक घराना ओमप्रकाश अग्रवालको परिवार नै झन्डै एक महिनादेखि फरार छन् । काठमाडौंको दरबारमार्ग र कान्तिपथमा ग्रिन लाइन सेन्टर प्रालिको नाममा २५ वर्षदेखि व्यवसाय गर्दै आएको अग्रवाल परिवार विभिन्न बैङ्कबाट लिएको करिब एक अर्ब ऋण नतिरी फरार भएको हो ।

अग्रवाल परिवारको नाममा एभरेस्ट बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, मेगा बैङ्क र ग्लोबल आईएमई बैङ्क गरी चारवटाबाट मात्र ८० करोड रुपियाँभन्दा बढीको ऋण छ । अग्रवाल परिवारले त्यसअघि पनि ठूलो परिमाणमा सहकारी तथा व्यक्तिगतसमेत गरी अर्बसम्म ऋण रहेको अनुमान छ ।

बैङ्कहरूले ग्रिन लाइनका सञ्चालकलाई हाइपो तथा अन्य शीर्षकमा कर्जा दिएका छन् । हाइपोमा दिएको कर्जामा धितो हुँदैन, जोखिम बढी हुन्छ । यस्तो कर्जा व्यवसायको आकार र स्टकमा रहेको मौज्दातका आधारमा दिइन्छ । त्यसैले बैङ्कहरूले आआफ्नै तरिकाले ३५ दिने सूचना निकालेर ऋण असुलीको प्रक्रिया सुरु गरेका छन् । बैङ्कहरूले दिएको सबै ऋण हाइपो नभएका कारण घरजग्गा, फ्ल्याटलगायतको सम्पत्ति धितो राखिएको ऋण पनि छ ।

मेगाले स्टक र धितो दुवै राखेर ऋण दिएको छ । एभरेस्टले ज्ञानेश्वर चोकमा १७ आना जग्गा र घरसहित विभिन्न ठाउँका फ्ल्याट राखेर ऋण दिएको छ । ग्लोबल आईएमईले ज्ञानेश्वरकै अर्को १७ आना जग्गा धितोमा राखेर ऋण दिएको छ । इन्भेस्टमेन्टको पनि धितो र स्टकमा ऋण छ ।

मेगाले कलङ्कीका विभिन्न जग्गा राखेर दिएको कर्जाका लागि धितो लिलाम गर्ने प्रक्रिया थालेको छ । उक्त बैङ्कले बुधबार सूचना प्रकाशन गरी माघ २० गतेसम्म सम्पूर्ण कर्जा तिर्न समय दिएको छ । यदि समयावधिमा कर्जा नतिरे बैङ्कले लिलाम बोलपत्र माघ १९ गतेसम्म दिन सकिने र बोलपत्र माघ २० गते खोलिने जनाएको छ । नेपाल इन्भेस्टमेन्टले भने अग्रवाल परिवार बेपत्ता भएपछि उनीहरूले सञ्चालन गर्दै आएको ग्रिन लाइन सेन्टर दरबार मार्गमा ताला लगाएको छ ।

यति हुँदाहुँदै पनि घटनाको एक महिना पुग्न लाग्दासमेत बैङ्कहरूले अहिलेसम्म न कुनै अनुसन्धान गर्ने निकायमा उजुरी गरेका छन् न त नियामक निकायमा नै लिखित जानकारी गराएका छन् ।

अग्रवाल परिवार बेपत्ता भएको मौखिक सूचनापछि स्थानीय प्रहरीले प्रारम्भिक अनुसन्धानबाहेक कुनै फाइल अघि बढाएको छैन । प्रहरीले सञ्चार माध्यमबाट थाहा पाए पनि कुनै उजुरी वा निवेदन नपाएको जनाएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्