काठमाडौं, १८ माघ । नेपाल र अफ्रिकी राष्ट्र मरिससले दोस्रो मैत्रीपूर्ण खेलमा आज (मंगलबार) प्रतिष्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल ४ः४५ बजे सुरु हुनेछ ।
नेपालले शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा मरिससमाथि जित निकालेको थियो ।
शनिबार भएको खेलमा नेपालले मरिससलाई १–० गोल अन्तरले हराएको थियो । नेपालको जितमा विमल घर्तिमगरको गोल निर्णायक बनेको थियो ।
नेपाली टोलीमा आज दुई परिवर्तन भएको बताइएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गरेका छन् । जसमा डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका छन् भने मनिष डाँगी र दर्शन गुरुङलाई समावेश गरिएको छ ।
किरण चेम्जोङको कप्तानीमा घोषणा गरिएको नेपाली टिममा विशाल श्रेष्ठ, शत्रुघन चौधरी, विमल घर्ति मगर, गौतम श्रेष्ठ, दिनेश राजवंशी, सुमन लामा, तेज तामाङ, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, नविन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, मनिष डाँगी, आशिष राई, एरिक विष्ट, सुशील राई, दर्शन गुरुङ र सन्तोष तामाङ रहेका छन् ।
आजको खेलमा नेपाल दोस्रो जितको खोजीमा रहनेछ भने मरिसस पहिलो जितका लागि मैदान उत्रिनेछ ।