ललितपुर, १९ माघ । ललितपुर महानगरपालिकाले चारवटा रुटमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ । महानगरपालिकाले स्मार्ट सडक बत्ती जडान भएका चारवटा रुटमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको हो ।
बाग्मती पुलबाट जावलाखेल–लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटल, पाटन ढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार–लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म ६६९ वटा स्मार्ट सडक बत्ती जडान गरिसकेको महानगरले जनाएको छ ।
महानगरले दोस्रो चरणअन्तर्गत चक्रपथ बाहिरका खोकना, बुङमती, हरिसिद्धी, सुनाकोठी, धापाखेलमा स्मार्ट सडक बत्ती जडानको काम सुरु हुँदै छ । त्यस्तैगरी, ललितपुर महानगरभित्र पर्ने चक्रपथमा पनि स्मार्ट सडक बत्ती जडानको तयारी भइरहेको जनाइएको छ ।