काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको आजको फोनवार्ता सामान्य नभएको खुलेको छ । दुई नेताबीच फोनमै चर्काचर्की भएको छ ।
प्रचण्डले देउवामाथि सिधै एमसीसीलाई लेखेको पत्र लिक गरेको आरोप लगाएका थिए । त्यसपछि देउवा पनि जंगिएका थिए ।
देउवाले प्रचण्डलाई आज ओलीसँग बसेर तीन नेताबीच बैठकका लागि आग्रह गर्न कुरा गरेका थिए । उनले भेटवार्ता तय गरेका थिए । तर, प्रचण्डले त्यसलाई सहज मानेनन् ।
‘तपाई जसरी पनि एमसीसी पारित गर्ने पक्षमा हुनुहुन्छ भन्ने प्रष्ट भइसकेको छ,’ प्रचण्डको भनाई उदृत गर्दै स्रोतले भन्यो,‘हामीबीच गोप्य पत्रलाई कुनै पनि परिस्थितिमा सार्वजनिक नगर्ने भएको सहमतिलाई पनि तोड्नुभयो ।’ त्यसपछि देउवाले कस्ले पत्र सार्वजनिक गर्यो ? भनी प्रश्न गरेका थिए । दुई नेताबीच केही बेर चर्काचर्की भएपछि प्रचण्डले ओलीसँग मिलेर एमसीसी पारित गर्न भनेको बुझिएको छ ।
देउवालाई प्रचण्डले सिधै सरकारमा नरहने जवाफ दिएका थिए । योसँगै गठबन्धन तोडिने निश्चितप्रायः भएको छ ।