Logo

अग्नि सापकोटालाई सभामुखबाट हटाएर एमसीसी पारित गर्ने तयारी



काठमाडौं, २४ माघ । सभामुख अग्निप्रसाद सापकोटा कुनै हालतमा एमसीसी टेबुल नगर्ने पक्षमा दृढ देखिएका छन् । उनलाई आइतबार सिंहदरबारस्थित कार्यकक्षमा भेट्न पुगेका कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले एमसीसी सम्झौता निर्णयमा लान सदनमा पेश गर्न लागेको जानकारी दिएपनि टेबुल नगर्ने संकेत गरिदिए ।

सभामुखले प्रमुख प्रतिपक्षीले सदन सुचारु गर्नुपर्ने, दलहरुबीच सहमति बन्नुपर्ने विषय राखे । बडू निराश भएर प्रधानमन्त्री शेरबहादुर देउवालाई यसबारे ब्रिफिङ गरे ।

सभामुखले टेबुल नगरी एमसीसीको प्रस्ताव सदनमा निर्णयार्थ प्रस्तुत नहुने भएपछि या त सापकोटा लचिलो हुनुपर्ने या उनलाई हटाउनुपर्ने बाहेकको विकल्प नदेखिएको निष्कर्षमा प्रधानमन्त्री शेरबहादुर देउवा पुगेको बुझिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको सर्त पनि सभामुख हटाउने रहेको छ । यसपछि उनी एमसीसीको पक्षमा देखिन तयार हुनसक्ने सन्देश पठाइसकेको बुझिएको छ ।

अब सभामुख हटाउने भित्री तयारी भएको छ । सभामुख हटाउन प्रतिनिधि सभा नियमावली अनुसार एकजना संसदले एक चौथाई सांसदको हस्ताक्षरसहित प्रस्ताव पेश गर्ने तयारी भइसकेको छ । यसका लागि काँग्रेस, एमाले, जसपा र लोसपाबीच भित्री तयारी भइरहेको छ । जसपाभित्र पनि सभामुखलाई हटाउने विषयमा मतभेद हुने सम्भावना छ । एमालेमा पनि त्यो सम्भावना देखिएको छ । काँग्रेस र लोसपा भने सभामुखलाई हटाउन एकमत हुने अवस्था विकास भएको छ ।

सभामुखविरुद्ध हटाउने प्रस्ताव पेश भएपनि पारित हुन दुई तिहाई पुग्नुपर्छ । संसदको हालको सदस्य संख्याको दुई तिहाई पुग्न एमाले, काँग्रेस, जसपा र लोसपाको सांसद मिल्नुपर्छ । एमाले र जसपाको गरी १० भन्दा कम सांसद विरोधमा देखिएपनि सभामुख हटाउने प्रस्ताव पारित हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्