काठमाडौँ, २५ माघ: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले भृकुटीमण्डप क्षेत्रको अनुगमन गरेकी छिन् । भुकटीमण्डपभित्र रहेका व्यापारीहरूले स्टल भाडासमेत नतिरेको पाइएपछि उनले आज (मङ्गलबार) दिउँसो हङकङ बजारसहित भाडाका अन्य भवनहरूको अनुगमन गरेकी हुन् ।
त्यस क्रममा धेरैले भाडा नतिरेको पाइएको मन्त्री रेग्मीले बताईन्। उनले भृकुटीमण्डपभित्र भाडा नतिर्ने र अनियमितता गर्नेमाथि तत्काल कारबाही गर्ने चेतावनी दिईन् । अनियमितता गर्नेलाई कारबाहीको दायरामा ल्याउन आफूले त्यस क्षेत्रको अवलोकन गर्नुपरेको उनले स्पष्ट पारीन् ।
मन्त्री रेग्मीले भनिन्, ‘आफ्नै आँखाले देखेर मात्रै सुधार गर्न सकिन्छ । त्यस कारण यसलाई सुधार गर्न, नियमन गर्न र व्यवस्थित गर्नका लागि जो–जाे बस्नुभएको छ, उहाँहरूले पनि सहयोग गर्नुपर्याे । भाडा नतिर्ने र अनियमितता गर्नेलाई कारबाही हुन्छ नै ।’
मन्त्री रेग्मीले भृकुटीमण्डप क्षेत्रको भाडा लगाउने काम बिचौलियाहरूले गरिरहेको उल्लेख गर्दै अब सोझै समाज कल्याण परिषद्ले भाडा सम्झौता गर्ने व्यवस्था गर्न लागिएको बताईन् । भृकुटीमण्डपको हङकङ बजारलाई व्यवस्थित बनाउन तत्काल टिनको छानोको व्यवस्था गर्ने उनकाे योजना छ ।