काठमाडौं, २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठकले निवर्तमान अध्यक्ष कमल थापालाई पार्टीबाट अलग हुने निर्णय फिर्ता लिन आग्रह गरेको छ । आज धुम्बाराहीमा बसेको बैठकले थापाको निर्णयलाई अनपेक्षित भन्दै अलग नहुने आग्रह गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
थापाको पार्टीबाट अलग हुने निर्णय अनेपेक्षित तथा अप्रत्याशित भन्दै दुःख प्रकट गरेको जनाइएको छ । राप्रपाले पार्टी महाधिवेशनले तय गरेको राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापनालगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित हुन समेत आग्रह गरेको छ ।
आज निवर्तमान अध्यक्ष थापाले हेटौंडामा पत्रकार सम्मेलन गरी राप्रपाबाट अलग हुने निर्णय लिएको बताएका थिए । उनी एकता महाधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनबाट पराजित भएयता नेतृत्वसँग असन्तुष्ट थिए ।