काठमाडौं, २६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व अध्यक्ष कमल थापाले पार्टी छाडेको घोषणा गरेको २४ घण्टा नबित्दै पुर्व कोषाध्यक्ष उद्धव पौडेलले पनि पार्टी छाडेका छन् । पौडेलले बुधबार विहान सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी छाड्ने घोषणा गरेका हुन् ।
नेता पौडेलले फेसबुकमा आफूले राप्रपालाई एकतावद्ध बनाउन धेरै प्रयास गरेको .भएपनि असफल भएको बताएका छन् । ‘राप्रपालाई एकतावद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ ।’ उनले लेखेका छन्,‘असफल विद्यार्थीको रुपमा अत्यन्तै दुखी र भावुक छु । राप्रपामा बस्दाको पल सदैव अविष्मरणीय रहनेछ ।’
आजैदेखि राप्रपासँगको संलग्नता अन्त्य गरेको पनि उनले उल्लेख गरेका छन् । राप्रपामा पौडेल कमल थापा निकट भनेर चिनिन्छन् । गत मंसिरमा भएको महाधिवेशनमा उनले कुनै पनि पदमा उम्मेदवारी दिएका थिएनन् ।