काठमाडौं, २६ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गठबन्धन दलहरुलाई पेलैर जान थालेका छन् । उनले नयाँ मन्त्रीहरु बनाउँदा गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि बढेको हो ।
कर्णालीमा मन्त्रिमण्डल विस्तार गर्दा शाहीको कदमले केन्द्रमा समेत तरंग आएको छ । आज खुमलटारस्थित प्रचण्ड निवासमा यसबारे छलफल भएको बुझिएको छ । प्रचण्ड र माधवकुमार नेपालले कर्णालीको विषयलाई गम्भीरतापूर्वक लिएको बुझिएको छ । गठबन्धनको मर्मविपरित शाही अगाडि बढेको निष्कर्षमा दुवै नेता पुगेको विश्वस्त स्रोतले बताएको छ ।
यसैगरी, नेकपा एसका नेता प्रकाश ज्वालाले जीवनबहादुर शाहीको कदमप्रति आपत्ति जनाएका छन् । उनले मन्त्रिमण्डल विस्तारप्रति असन्तुष्टि जनाएका छन् । कर्णालीमा महेन्द्रबहादुर शाहीको सरकार जोगाउन ज्वालासहितका सांसदहरुले पदलाई नै दाउमा राखेका थिए । शाहीको सरकार जोगिएपछि माओवादी केन्द्र हुँदै नेपाली काँग्रेसको नेतृत्वमा कर्णाली सरकार गठन भएको थियो ।