Logo

बाराकी रुबी शाहलाई १० हजार डलर बराबरको ‘वुमन इन बिजनेस’ छात्रवृत्ति



काठमाडौं, माघ २७। बाराकी रुबी शाहलाई १० हजार डलर बराबरको जोन्टा इन्टरनेशनल २०२१ जेनएम क्लाउजम्यान (जेएमके) वुमन इन बिजनेस छात्रवृत्तिबाट सम्मानित गरिएको छ। उनलाई जोन्टा क्लब अफ काठमाडौं–२५, क्षेत्र २ बाट मनोनयन गरिएको थियो र पुरस्कारको लागि आवेदन जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट छनोटमा पठाइएको थियो ।

जहाँ उनले थप दुई हजार डलर पनि प्राप्त गरेकी छन् । उनीसँगै अरु ३२ जनाले दुई हजार डलर बराबरको थप छात्रवृत्ति पनि प्राप्त गरेका थिए। यसका साथै उनले संयुक्त राज्य अमेरिकाको इलिनोइसस्थित जोन्टा हेडक्वार्टरबाट थप आठ हजार डलर पनि प्राप्त गरेकी छिन्। उनी शैक्षिक वर्ष २०२१– २०२२ को लागि यस अन्तर्राष्ट्रिय छात्रवृत्ति प्राप्त गर्ने विश्वभरका छ जना क्षमतावान प्रतिभाहरु मध्य एक हुन् ।

उनी वित्त र लेखा विषय लिएर ब्रिटिस कलेजमा स्नातक अन्तिम वर्षमा अध्ययनरत छिन् । १९ वर्षको उमेरदेखि नै रुबीले विभिन्न विधामामा व्यवसाय इन्क्युबेशन, कन्टेन्ट क्रिएसन, मार्केटिङ, र परामर्श सेवाजस्ता धेरै स्टार्टअपहरूसँग काम गरिरहेकी छिन् । उनी उद्यमी नेपालीको पूर्व प्रमुख अपरेटिङ अफिसर पनि हुन् ।

त्यहाँ उनले कम्पनीको कर्मचारीलाई मार्गदर्शन गर्ने र उद्यमीका लागि आवश्यक सामग्री बनाउने देखि लिएर कार्यक्रम संयोजन गर्ने विषयमा रणनीतिहरू बनाइन्। हाल उनी कीर्तिपुरको रोटरयाक्ट क्लबको चार्टर प्रेजिडेन्टको रूपमा नेतृत्व गरिरहेकी छिन् जहाँ उनले ४० भन्दा बढि स्थानीय युवाहरूसँग मिलेर सामुदायिक परियोजनाहरू र क्षमता विकास सम्बन्धि कार्यक्रमहरू संयोजन गरिरहेकी छिन्।



प्रतिक्रिया दिनुहोस्