काठमाडौं, २८ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दशौं चरणको खेलमा फ्रेन्ड्स क्लबले फराकिलो जित निकालेको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको फ्रेन्ड्स र ब्रिगेड ब्वाईज क्लबबीचको खेलमा फ्रेन्ड्स ५–२ को जित निकालेको हो ।
फ्रेन्ड्सको जितमा सुशील शाहले डेब्यु खेलमै उत्कृष्ट दुई गोल गर्न सफल भए ।
खेलको १४औं मिनेटमा फ्रेन्ड्सका सुशील शाहले फ्रिकिक मार्फत उत्कृट गोल गर्दै टोलीलाई सुरुवाति अग्रता दिलाएका थिए ।
यस्तै, २४औं मिनेटमा ब्रिगेड ब्वाईजका ड्याडि वाइवा जुनियरले फ्रिकिक मार्फत जवाफ दिदै खेललाई १–१ अवस्थामा ल्याए ।
तर, त्यसको दुई मिनेट पछि फ्रेन्ड्सका स्याम बाबुले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए ।
यस्तै, खेलको इन्जुरी समयमा मनोज राईले गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर बनाए ।
खेलको ७५औं मिनेटमा फ्रेन्ड्सका जमोल फ्रान्सिसले गोल गर्दै पटोलीको अग्रता तेब्बर बनाए ।
त्यसको दुई मिनेटपछि सुशील शाहले व्यक्तिगत दोस्रो गोल गर्दा खेलला ५–१ स्थितिमा पुग्यो ।
खेलको ८५औं मिनेटमा ब्रिगेडले पाएको पेनाल्टीको मौकालाई अनिल गुरुङले सदुपयोग गर्दै खेललाई ५–२ को अवस्थामा ल्याएपनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
यस जितसँगै फ्रेन्ड्स रेलिगेसनबाट जोगीने सम्भावना कायम राखेको छ भने ब्रिगेडलाई दबाव बढेको छ ।