Logo

अब माधव नेपाल एक्लै हुन्छन्ः नेत्री न्यौपाने (भिडिओसहित)



काठमाडौं, २९ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले स्थानीय तहको चुनावमा पाँच गठबन्धन एक भएपनि आफ्नो दलले बहुमत ल्याउने दाबी गरेकी छिन् । रिपोर्टर्स क्लब नेपालको युट्युब च्यानलबाट प्रसारण भएको कार्यक्रम ‘वैचारिक मन्थन’ कार्यक्रममा पत्रकार सचिना बानियाँसँग कुरा गर्दै न्यौपानेले यस्तो बताएकी हुन् । उनले यसअघि आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राम्रो काम गरेकोले जनता एमालेप्रति आकर्षित रहेको र बहुमत दिने स्पष्ट पारेकी हुन् । एमालेले दिएको दबाबकै कारण वर्तमान पाँच दलीय गठबन्धनको सरकारले स्थानीय चुनावको मिति घोषणा गरेको समेत उनको दाबी छ ।

नेतृ न्यौपानेले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा कुनै षडयन्त्र र छलछाम नगरी सम्पन्न गर्नुपर्नेमा जोड दिईन् । उनले भनिन्,‘नेपाली जनतालाई नेकपा एमालेको खाँचो र आवश्यकता छ । स्थानीयमात्र नभएर अब हुने प्रदेश र संघीय संसद्को निर्वाचनमा समेत एमालेलाई जनताले रोज्छन् ।’

उनले आगामी चुनावमा एमालेले कसैसँग तालमेल नगर्ने पनि स्पष्ट पारिन् । यद्धपी उनले आफ्ना मुद्दा र एजेण्डासँग मेल खाएमा कसैसँग पनि सहकार्य असम्भव नरहेको स्पष्ट पारिन् । न्यौपानेले पाँच गठबन्धनलाई दक्षिणपन्थीको संज्ञा दिँदै गठबन्धन एमाले सिध्याउने उद्देश्यले निर्माण भएको आरोप लगाईन् । उनले भनिन्,‘एमाले सिध्याउछु भन्ने मनशायको साथ गरिएको हो यो गठबन्धन । देशको लागि होइन् । यो गठबन्धनले अनेक खालका हल्ला गरिरहेको छ । पार्टीले कसैसँग तालमेल गरेर चुनावमा लड्ने भन्ने कुनै निर्णय गरेको छैन् ।’

उनले आगामी चुनावमा सम्पुर्ण शक्ति तथा कार्यकर्ता परिचालन गरी एमाले भएर जनताको बीचमा एजेण्डा र मुद्दा लिएर जाने बताइन् । उनले भनिन्,‘पाँच दलको गठबन्धन चुनावसम्म रहेपनि चुनाव हामी शानदार ढंगले जित्छौ ।’ निर्वाचनपछि माधव नेपालको राजनीतिक हैसियत समाप्त हुने न्यौपानेको टिप्पणी छ ।

उनले माधव नेपाल एक्लै चुनाव लड्ने हैसियतमा नभएको समेत आरोप लगाइन् । रुखमा भोट हाल्ने कांग्रेसको लोभले कांग्रेसलाई चुनावसम्म लौन प्रभु भन्दै गठबन्धन जोगाउन माधव नेपालले हात जोडेको उनको भनाई छ । माधव नेपालले आफ्ना पछाडि लाग्ने कार्यकर्ताको भविष्य अस्तब्यस्त बनाउँदै उनीहरुमाथि नै अन्याय गरेको पनि उनले आरोप लगाईन् । उनले भनिन्,‘अबको केही समयमा माधव नेपालको पछि लागेका कार्यकर्ताहरुले तपाईले कुण्ठाको कारण हाम्रो भविष्य अस्तब्यस्त बनाउनु भएको रहेछ भन्नेछन् । तपाईको इगो, प्रतिशोध र केपी ओलीलाई सिध्याउँछु भन्ने सोचले आफ्नो र हाम्रो समेत भविष्य अन्धकार बनाउनेगरि तपाई लाग्नुभएको छ, पार्टी चोइटाउनुभएछ, अब तपाईसँग बस्न सक्दैनौ भन्दै आक्रोस पोखेर पुरानो घर (एमाले) मा फर्कनेछन् ।’

उनले अहिलेनै माधव नेपालको पछि लागेका नेता तथा कार्यकर्ताहरु एमालेमा फर्किन थालेको बताईन् । अब नेकपा (एकीकृत समाजवादी) पार्टीमा माधव नेपाल (एक्लै) हुनेसमेत जिकिर गरिन् ।
उनले आफ्नो अध्यक्ष ओली सरकारको नेतृत्वमा हुँदा अमेरिकी सहयोग सम्झौता एमसीसी संसद्मा लगेको स्मरण गराउँदै भनिन्,‘सांसदहरु सार्वभौम हुनुहुन्छ, सांसदहरुले दफा–दफामा गएर बहस गर्नुहुन्छ, कुन दफा देशको हितमा छ अनि कुन दफा अहितमा छ, त्यो सबैमा छलफल हुन्छ, अहितमा भए संसदले नै यसको बहस गर्छ भनेर अध्यक्ष केपी शर्मा ओलीज्यूले एमसीसी संसदमा लानुभएको हो ।’

भिडिओ हेर्नुहोस्:

 



प्रतिक्रिया दिनुहोस्