काठमाडौँ, २ फागुन। मधेश प्रदेशमा किसान आन्दोलन चलाइरहेको सीके राउत नेतृत्वको जनमत पार्टीले विरोधका थप कार्यक्रम घोषणा गरेको छ। हिजो (आइतबार) जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले २ देखि २० फागुनसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
जसमा स्थानीय तहको निर्वाचनका लागि खोलिने निर्वाचन तथा जिल्ला निर्वाचन कार्यालयमा तालाबन्दी गर्नेसम्मका कार्यक्रम समाबेश छन्।सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ। स्थानीय तहको चुनावमा निर्वाचन आयोगका दर्ता भएका दललाई उनीहरूले आयोगमा दर्ता गरेकै चुनाव चिह्न दिनुपर्ने जनमत पार्टीले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
निर्वाचन आयोगले भने अघिल्लो संघीय संसद्को चुनावका आधारमा राष्ट्रिय दलको मान्यता पाएका पार्टीलाई मात्रै सम्बन्धित पार्टीको चुनाव चिह्न प्रदान गर्छ। साना दलका उम्मेदवारले स्वतन्त्र उम्मेदवारका रुपमा छुट्टै चुनाव चिह्न लिनुपर्ने व्यवस्था छ।
यो व्यवस्था हटाएर सबै दललाई निर्वाचन आयोगका दल दर्ता गर्दा दिएको चुनाव चिह्न प्रदान गर्न जनमत पार्टीले माग गरेको छ। त्यसका लागि जनमत पार्टीले २० फागुनमा मधेश प्रदेशस्थित निर्वाचन कार्यालयमा तालाबन्दी गर्न कार्यक्रम सार्वजनिक गरेको हो ।-File Photo