Logo

एमालेले आज महाभियोगको प्रस्ताव नल्याउने



काठमाडौं, ३ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले चार जना न्यायाधीशहरुविरुद्ध महाभियोग प्रस्ताव आजै ल्याउने चर्चा छ । तर, एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने आजै महाभियोग प्रस्ताव दर्ता नगरिने स्पष्ट पारेका छन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आज/भोलि नै महाभियोग प्रस्ताव नल्याईने स्पष्ट पारेका हुन् । हिजोमात्रै एमाले संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकमा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले तत्काल आफ्नो पार्टीले आवेग र उत्तेजनामा कुनै कदम नचाल्ने बताएका थिए ।

तर, हिजोको बैठकमा एमाले सांसदहरुको खाली कागजमा हस्ताक्षर भने संकलन गरिएको थियो । एमालेले परमादेश जारी गर्ने न्यायाधीशहरुमाथि महाभियोग लगाउने भनेको छ ।

सत्तापक्षीय नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाएपछि एमाले आक्रामक बनेको छ । file photo



प्रतिक्रिया दिनुहोस्